आफ्नो मन्त्रालयमा गरिबलाई राहात दिने कार्यक्रम नभएको गरिबी निवारण मन्त्रीको गुनासो


hirdayaram-thaniमाघ १६, २०७३- सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले आफ्नो मन्त्रालयमा गरिब उन्मुख कार्यक्रम नभएको बताएका छन् । मन्त्रालयसँग गरिब पहिचान गर्ने कार्यक्रम मात्र भएको मन्त्री थानीले बताए ।

प्रेस युनियन जाजरकोटले शनिबार साँझ आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थानीले यस्तो बताएका हुन् ।  ‘गरिबी मन्त्रालय एकातिर छ बजेट कार्यक्रम अन्तै छ । गरिबीको रेखामुनि रहेका २५ जिल्लाका जनतालाई गरिब परिचय पत्र वितरण गर्ने कार्यका लागि मन्त्रालय गठन भएको पाइयो,’ उनले भने । ‘गरिब जनतालाई कार्ड हैन राहात चाहिएको छ, तर यस मन्त्रालयमा गरिबलाई दिने केही छैन,’ मन्त्री थानीले भने । यो देशमा गरिबका लागि ४९ कार्यक्रम सञ्चालनमा रहे पनि गरिबी निवारण मन्त्रालयसँग एउटा पनि कार्यक्रम नभएको उनले बताए । यी कार्यक्रममार्फत गरिबका नाममा अरबौ बजेट खर्च भएको छ । तर, उक्त बजेट गरिबको दैलोमा पुग्न नसकेको उनले बताए ।

गरिबी निवारणका लागि विनियोजित बजेट कार्यक्रममा राजनीतिक कार्यकर्ताको हालीमुहाली भएको र गरिबका कार्यक्रम समेत विकसित जिल्लामा लागू हुने गरेको उनले बताए । गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयअन्तर्गत, युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालयअन्तर्गत, स्थानीय विकास मन्त्रालयअन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत रहेको मन्त्री थानीले बताए ।

 राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यस्तो माग राखेको उनले बताए ।

मन्त्रालयले २५ जिल्लाका गरिबीका रेखामुनी रहेका ३ लाख ९५ हजार घरधुरीमध्ये अति गरिब १ लाख ९० हजार, गरिब १ लाख २० हजार र सीमान्त गरिब ८४ हजारलाई परिचय पत्र वितरण गर्न लागेको उनले बताए । त्यस्तै मन्त्रालयले ४ वर्ष देखि अलपत्र परेको सहकारी ऐनलाई व्यवस्थित बनाएर कार्यान्वयनमा ल्याउन लागेको मन्त्री थानीको भनाइ छ ।

साभारः कान्तिपूरअनलाइन