१७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न बेलायत भ्रमण रोक्न बेलायतबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । अहिलेसम्म १० लाख जनाको हस्ताक्षर संकलन भइसकेको छ ।
सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरिएको सन्दर्भमा ट्रम्पलाई बेलायत निम्त्याउनु नहुने भन्दै हस्ताक्षर संकलन गरिएको हो । भ्रमणले बेलायती महारानीलाई लज्जित तुल्याउने दाबी पनि अभियन्ताहरुको छ ।
तर, सरकारले भने यो अभियानलाई खासै महत्व दिएको छैन । एक सरकारी स्रोतले यो अभियानलाई ‘पपुलिस्ट’ संज्ञा दिँदै भ्रमण रद्द हुने सम्भावनालाई पुरै नकार्यो । भ्रमण रद्द गर्दा प्रधानमन्त्री थेरेसा मेले गत शुक्रबार गरेको ह्वाइट हाउस भ्रमणका क्रममा हासिल गरेको उपलब्धि माटोमा मिल्ने स्रोतको दाबी छ ।
‘यताबाट निमन्त्रणा पठाइसकिएको छ र उताबाट पनि स्वीकारोक्ति आइसकेको छ,’ डाउनिङ स्टि्रट स्रोतले बीबीसीलाई भन्यो, ‘अमेरिका हाम्रो लागि ठूलो र महत्वपूर्ण मित्र हो र हामीले दिर्घकालिन सोचाई राख्नुपर्छ ।’
यता, हस्ताक्षर अभियान सुरु भएको ३६ घन्टामै १० लाखको संख्या पार गर्न आँटेको छ । बढीभन्दा बढी मानिसहरु हस्ताक्षरका लागि ओइरिएका छन् । प्रत्येक मिनेटमा औसत एक हजार जनाले हस्ताक्षर गरिरहेका छन् र यो अहिले नै बेलायती संसदको इतिहासमा तेस्रो ठूलो हस्ताक्षर अभियान सावित भइसकेको छ ।
यो मुद्दालाई हाउस अफ कमन्समा बहसको लागि लैजानलाई १ लाख मात्र हस्ताक्षर आवश्यक पर्छ । लेवर पार्टीका नेता जेरेमी कोर्बिन र लिबरल डेमोक्रेटिकका नेता टिम फारोनले हस्ताक्षर अभियानको समर्थन गरेका छन् ।
हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ट्रम्पले बेलायती महारानीलाई लज्जित बनाउने खालको हर्कत गर्नसक्ने दाबी गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘डोनाल्ड ट्रम्पलाई एउटा अमेरिकी
राष्ट्रपतिका रुपमा बेलायतमा प्रवेशको अनुमति दिनुपर्छ, तर राजकीय भ्रमणका लागि निम्तो दिनु हुँदैन किनकी उनले महारानीलाई लज्जित तुल्याउन सक्छन् ।’
‘डोनाल्ड ट्रम्पको स्त्रीप्रति गलत नियत र अश्लिल व्यवहार सुपरिचित रहेकाले उनी महारानी वा पि्रन्स अफ वेल्सका तर्फबाट स्वागतका हकदार छैनन् । त्यसैले ट्रम्पको कार्यकालभरी अमेरिकी राष्ट्रपतिलाई बेलायतमा बोलाउनु हुँदैन,’ ज्ञापनपत्रमा भनिएको छ ।
६ महिनाभित्र एक लाखले हस्ताक्षर गरेको कुनै पनि ज्ञापनपत्रमाथि संसदमा जनप्रतिनिधीहरुले बहस गर्नुपर्ने प्रावधान छ ।
अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणको योजना शुक्रबार मात्र घोषणा भएको थियो, जब प्रधानमन्त्री मेले महारानीका तर्फबाट गरिएको निमन्त्रणा स्वीकार गरिएको खुलासा गरेकी थिइन् ।
यसैबीच मुस्लिम राष्ट्रमाथि लगाइएको प्रतिवन्धविरुद्ध डाउनिङ स्टि्रट र देशभर आज ठूला प्रदर्शनहरुको तयारी गरिएको छ ।स्रोतःअनलाईन ।



Milan Shrestha । १७ माघ २०७३, सोमबार ११:३३ बजे