केही दिनसम्म पानी पर्ने क्रम जारी रहने


काठमाडौँ, वैशाख ८ । रासस
मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै दुईरतीन दिन लाग्ने बताएको छ। पश्चिमी वायु प्रणाली र पूर्व मनसुन प्रक्रियाको प्रभावले अहिले वर्षा भइरहेको र यो क्रम केही दिन चल्ने महाशाखाले बताएको छ। मनसुन प्रक्रिया सुरु हुनु अगावैको अवस्थालाई पूर्व मनसुन प्रक्रिया भनिन्छ। नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको समयावधिमा मनसुन प्रक्रिया चल्ने गर्छ।
भूमध्य सागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको हिमाञ्चल क्षेत्र हुँदै सुदूर पश्चिमीबाट नेपालमा पश्चिमी वायु प्रणाली प्रवेश गरेको छ।
वायु अहिले मध्य तथा पूर्वी भेगतर्फ वहने प्रक्रिया सुरु भइसकेकाले मुलुकका पहाडी तथा तराई क्षेत्रका अधिकांश भागमा वर्षा भइरहेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् केशवदास श्रेष्ठले सोमबार अपराह्नसम्म सो वायुको प्रभाव रही वर्षा हुने प्रक्रिया चलिरहने र तराई क्षेत्रमा भने सो प्रक्रिया लम्बिने बताए।
महाशाखाका अनुसार आज बिहान ९ बजेसम्म ओखलढुङ्गामा २, सुर्खेत र काठमाडौँमा ७, दाङ्मा १८, पोखरामा ३१ र भैरहवामा ४५ मिलिलिटर वर्षा भएको छ।