१२ लाखको लागूऔषधसहित मकवानपुरबाट एक भारतीय नागरिक पक्राउ


 

बिक्रिका लागि काठमाडौं जानलागेको अभियुक्तको भनाई

मकवानपुर । १२ लाख रुपैयाँ बराबरको लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । भारतको बिहार, रक्सौल–११ का ८२ वर्षीय विजयकुमार कपुरलाई मकवानपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

प्रहरीले उनको साथबाट २ हजार ४ सय एम्पुल लागूऔषध बरामद भएको जनाएको छ । रातोमाटे चेकपोस्टका प्रहरीले वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ८९६८ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्ने क्रममा कपुरको साथमा रहेको सुटकेस खानतलासी गर्दा ८ सय एम्पुल डाइजेपाम, ८ सय एम्पुल फेनार्गन र ८ सय एम्पुल ब्युपोनर्फिन फेला पारेको हो ।

सुटकेसभित्र कालो रङका २३ वटा प्लास्टिकका पोकामा लागूऔषध भेटिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । पटनाबाट डेढ लाख भारुमा किनेर काठमाडौंमा बेच्न ल्याएको कपुरले सञ्चारकर्मी समक्ष बताए । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।