सुख्खायामको लोडसेडिङ टर्‍यो, कुलमानले छिचोले चुनौती


मुकेश काफ्लेको खुल्ला चुनौती पानीको फोका सावित

Kulman-Ghising-1२० फागुन, काठमाडौं । अब काठमाडौंसहित पोखरा र चितवनमा कुनै पनि हालतमा लोडसेडिङ नदोहोरिने पक्कापक्की भएको छ । नेपाल विद्युत् प्राधिकरणले मुख्य सुख्खायामलाई कुशलतापूर्वक पार लगाउँदै आफ्नो घोषणा कार्यान्वयनमा दृढ रहेको बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तिहारपछि काठमाडौंबाट लोडसेडिङ हटाउने निर्णय गरेको थियो । त्यतिबेला विद्युत् प्राधिकरणबाट प्रमुख भर्खर पदमुक्त भएका मुकेश काफ्लेले सार्वजनिक सञ्चारमाध्यममार्फत माघदेखि बैशाखसम्म लोडसेडिङ नभए कुनै सार्वजनिक पद नै धारण नगर्ने उद्घोष गरे । जसले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो ।

लामो समय प्राधिकरणको नेतृत्व सम्हालेका व्यक्तिले नै गरेको ‘ओपन च्यालेञ्ज’ लाई धेरैले अर्थपूर्ण रुपमा लिएका थिए । किनभने नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ हटाउँछु भने पनि त्यसको परीक्षण कम्ता चुनौतिपूर्ण थिएन ।

घोषणा गर्ने तर कार्यान्वयन नगर्ने नेपाली संस्कारको निरन्तरता कुलमानले पनि दिने हुन् कि भन्नेमा धेरैले आशंका जनाउनु अस्वाभाविक पनि थिएन । अन्ततः काठमाडौंबाट लोडसेडिङ हटाउने अभियान थालेका कुलमान र उनको टिमले त्यो चुनौतीलाई छिचोलेको छ । प्राधिकरणका अनुसार अब काठमाडौंमा लोडसेडिङ दोहोरिन्छ कि भनेर आशंका गर्ने समय घर्किएको छ ।

नेपालमा सबैभन्दा कम बिजुली उत्पादन हुने र अत्याधिक लोडसेडिङ हुने अहिलेकै सुख्खायाम हो । यो समयमा पनि प्राधिकरणले आफ्नो पूर्वघोषणाअनुरुप नै बिजुली वितरण गरिरहेको छ । अझ धेरै ठाउँमा पहिलेजति बिजुली काटिएको छैन । काफ्लेले घोषणा गर्दा काठमाडौंमात्रै लोडसेडिङ मुक्त गर्ने भनिएको थियो, अहिले पोखरा र चितवनमा पनि लोडसेडिङ हटेको छ ।

अब काठमाडौंमा कुनै पनि हालतमा लोडसेडिङ दोहोरिने छैन । तर, प्रशारण लाइनलाई बिगार्ने गरी पछिल्लो समयमा भइरहेका आपराधिक हर्कतले भने प्राधिकरण सशंकित छ । तर, पनि बिजुलीको उत्पादन र त्यसको वितरणका कारण कारण घोषणा कार्यान्वायन नहुन सक्ने मूल चुनौतीले कुलमानसहित प्राधिककरणलाई बाई-बाई गरेको छ ।

प्राधिकारणका प्रवक्ता प्रबल अधिकारी अब लोडसेडिङ हटेको घोषणा भएका ठाउँमा त्यसलाई नदोहोर्‍याउने र विस्तारै सबै ठाउँहरुरुमा लोडसेडिङ हटाउँदै जाने बताउँछन् । ‘अब चैत १५ देखि हिउँ पग्लिन सुरु हुन्छ र नदीहरुमा पानीको बहाव बढ्छ’ अधिकारीले भने,’अहिले हामी न्युनतम् उत्पादनको अवस्थमा छौं, अहिले गरिएको बिजुली ब्यवस्थापन अबको २५ दिनसम्म यथावत् राखेपछि हामीलाई थप विजुली आउन सुरु हुन्छ ।’ अब गर्मी मौसम सुरु हुने भएकाले नदीहरुबाट बिजुलीको उत्पादन बढ्न थाल्नेछ । त्यसपछि प्राधिकरणलाई बिजुलीको वितरण र व्यवस्थापनमा अझ सहज हुनेछ ।

कसरी हुँदै छ व्यवस्थापन ?

अहिले प्राधिकरण र त्यस अन्तर्गतका आयोजनाबाट ३३२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्रले बनाएका आयोजनाले अहिले १४२ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनका लागि दिइरहेका छन् । अहिले भारतबाट पिक आवरमा ३ सय ८७ मेगावाट बराबरको बिजुली आयात गरिँदै छ ।

अब चैत मध्यबाट नेपालकै नदीहरुबाट हुने बिजुली उत्पादन बढ्नेछ । त्यसपछि बिस्तारै लोडसेडिङ हट्दै जानेछ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले लोडसेडिङलाई अब जनताको मन-मस्तिष्कबाट नै निकाल्ने गरी काम भइरहेको बताउँछन् । प्राधिकरणले तिहारपछि लोडसेडिङको तालिका नै निकाल्न छाडेको छ ।

नागरिकलाई उपलब्ध भएसम्म अधिकतम बिजुली दिने नीतिअनुरुप यसो गरिएको अधिकारीले बताए ।

के गरियो लोडसेडिङ कम गर्न ?

प्राधिकरणले लोडसेडिङ हटाउनका लागि भारतबाट धेरै विजुली आयातमा जोड दिएको छैन । गत वर्ष ३४५ मेगाबाटसम्म बिजुली आयात भएको थियो । यो वर्ष त्योभन्दा ४२ मेगावाट मात्रै बढी बिजुली ल्याइएको छ ।

बाँकी भने प्राधिकरणले आन्तरिकरुपमा नै व्यवस्थापन गरेको हो । मुख्यरुपमा प्राधिकरणले पिक आवरमा ठूला आयोजनालाई पूर्ण क्षमतामा चलाएर लोडसेडिङ व्यवस्थापन गरेको हो ।

बिजुलीको कम माग हुने समयमा ठूला आयोजनालाई रोकेर पिक आवरमा चलाउँदा मध्य मस्र्याङ्दीबाट सुख्खायाममै १४४ मेगावाटसम्म बिजुली उत्पादन भएको छ । नत्र निरन्तर चल्दा यसमा हिउँदमा ६० मेगावाट भन्दा माथि बिजुली उत्पादन हुँदैनथ्यो ।

उपभोक्ताले पनि साथ दिए

प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार लोडसेडिङ हटाउन प्राधिकरणले पिक आवरमा बढी बिजुली खपत गर्ने उपकरण नचलाउन उपभोक्तालाई गरेको अनुरोध प्रभावकारी देखिएको छ ।

‘यतिबेला पिक आवरमा साढे १५ सय मेगावाट भन्दा माथि हुनुपर्ने हो । तर, उपभोक्ताले सहयोग गर्दा त्यो घटेर १२ सय ६० बाट माथि गएको छैन ।

पिक आवरमा झण्डै ३ सय मेगावाट विजुलीको माग उपभोक्ताले घटाएका छन्’ प्रवक्ता अधिकारीले भने ।

चुहावट पनि घट्यो

त्यस्तै यो वर्ष पुससम्म ४ प्रतिशत विद्युत चुहावट पनि घटेको छ । यसले पनि माग सकारात्मक प्रभाव परेको छ । ‘हामीले चोरीमा लिएको शुन्य सहनशीलताको नीतिले पनि हामीलाई सहयोग पुगेको छ’ प्रवक्ता अधिकारीले भने,’हामीले चोरी नियन्त्रणका लागि पनि यो वर्ष निकै प्रयास गरेका छौं ।’

यस्तै एक सय मेगावाट बिजुलीको माग इन्भर्टरको प्रयोग नहुँदा नै कम भएको छ । लोडसेडिङ नहुने भएपछि शहरमा इन्भर्टर चार्ज गर्न छाडिएको छ । यसले पनि लोडसेडिङ हटाउन सहयोग पुगेको छ ।

प्रवक्ता अधिकारी अब प्राधिकरणले अघि बढाएका योजनालाई कायम राख्ने चुनौती रहेको बताउँछन् । प्रणालीमा सुरक्षाको पाटोबाट देखिएका पछिल्लो घटनाले प्राधिकरण केही सशंकित छ ।

साभारः अनलाइनखबर