द्वन्द्वपीडितको उजुरी दर्ता सुरु


सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे द्वन्द्कालका पीडितहरुलाई न्याय दिलाउने उद्देश्यले देशभरका स्थानीय शान्ति समितिबाट उजुरी लिने काम आइतबारबाट सुरु गरेको छ।
द्वन्द्वकालमा राज्यपक्ष र विद्रोहीपक्षबाट भएको मानवीय क्षतिका साथै विभिन्न घटनामा परेका पीडितहरुबाट उजुरी लिने काम असार पहिलो सातासम्म जारी रहने बताइएको छ।
कैयौंले अमानवीय यातना भोग्नुपरेको द्वन्द्वकालमा हजार भन्दा बढि वेपत्ता रहेको अनौपचारिक तथ्यांक छ।

गुनासो

१० वर्षे द्वन्द्वकालको समयमा सबै भन्दा बढी मानवीय क्षति हुने गरी घटना भएको चितवनमा आइतबार पहिलो दिन स्थनिय शान्ति समितिमा खासै उजुरी परेन।
द्वन्द्वकालमा चितवनको माडी बाँदरमुढेमा बम बिस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने ७२ जान घाईते भएका थिए।
चितवनमा माडी कल्याणपुरका नुनबीर बिश्वकर्माले पहिलो उजुरी दर्ता गराएका छन्।
राज्य पक्षबाट पीडित विश्वकर्माले क्षतिपुर्तिको माग गर्दै उजुरी हालेको बताए।
उनले भने, “द्वन्द्वमा परेकोले सहयोग केही पाउँछु भनेर उजुरी हालेको। कति पाउँछु त थाहा छैन। त्यतिबेला माओवादी भनेर होला मलाई लगेर यातना दिइएको थियो।”

विवरण

अन्य १० जनाले उजुरी फारम लिएर गएको शान्ति समिति चितवनका सचिव लक्ष्मी गौतम पौडेलले बताइन्।
आयोगले देशभरको स्थानीय शान्ति समितिमा खुल्ला, गोप्य र सिधै केन्द्रमा ईमेल टेलिफोनबाट पनि उजुरी गर्न पाउने व्यवस्था मिलाएको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका संयोजक सुर्य किरण गुरुङले भने, “उजुरी लिने काम अब आजदेखि सुरु गर्यौं। केन्द्रमा चाहिँ २८ जनाको दर्ता भयो। त्यसबाहेक पीडितहरुले फारम लिएर जानुभएको छ। आज सल्यान, महोत्तरी, बाँकेलगायतका ठाउँहरुबाट उजुरी आएको खबर प्राप्त भएको छ।”
७५ जिल्लाबाट उजुरी लिने काम भईरहेको र सबै जिल्लाको विवरण आउन समय लाग्ने उनले बताए।
उजुरी दिनका लागि आयोगले असार २ गतेसम्मका लागि म्याद तोकेको छ।
सभा र : विविसी