जनतालार्इ विश्वास गरे न जंगल जानुपर्छ, न सीमामा धर्ना दिनुपर्छ: उपप्रधानमन्त्री थापा


अशोक राजी
बैशाख ४, सुर्खेत, उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली जनतालार्इ विश्वास गर्न सके न वन्दुक समाएर जंगल जानुपर्ने न सीमानामा धर्ना दिनुपर्ने बताउनुभएको छ । उहाँले जनतालार्इ विश्वास नगर्दा कोही जंगल गएको र कोही सीमानामा धर्ना बस्नुपरेको जनाउनुभयो ।
राप्रपा नेपालले आज सुर्खेतमा आयोजना गरेको हिन्दुत्व जागरण सभामा बोल्दै अध्यक्ष थापाले धेरै कमीकमजोरी भएपनि जनताले बनाएको संविधान भएकोले राप्रपा नेपालले स्वीकार गरेको जिकिर गर्नुभयो । ८२ प्रतिशतले बहुमतले पारित गरेको संविधान मान्दैनौं भन्न कसैले नपाउने भन्दै उहाँले चित्त नबुझे पनि आफूहरुले आलोचनात्मक समर्थन गरेको उल्लेख गर्नुभयो ।
अहिलेको संविधानलार्इ आफूहरुले चारवटा शर्तका आधारमा मानेको बताउँदै अध्यक्ष थापाले विचारको स्वतन्त्रता, पार्टीलार्इ प्रतिवन्ध नलगाइने, पाँच बर्षमा चुनाव हुने र संशोधनको सरल व्यवस्थाले गर्दा आफूहरुले स्वीकारेको बताउनुभयो । पछिल्लो समय सनातन धर्मविरुद्ध सांगठनिक र योजनावद्ध रुपबाट आक्रमण भइरहेकोले सनातन धर्म जोगाउन, सरकारलार्इ दवाव दिन र धर्म परिवर्तन गराउने खोज्नेहरुलार्इ चेतावनी दिन हिन्दुत्व जागरण् सभाको आयोजना गर्नुपरेको उहाँले बताउनुभयो ।
हिन्दु धर्ममाथि विभिन्न भ्रम फैलाएर, विदेशीको इसारामा पैसाको लोभ देखाएर हिन्दु धर्म अतिक्रमण भइरहेको दावी गर्दै अध्यक्ष थापाले भन्नुभयो, सनातन धर्म बचाउन राप्रपा नेपाल अगाडि सरेको छ । धेरैजसो समय हिन्दु धर्म र यसको व्याख्या गर्न खर्चिनुभएका अध्यक्ष थापाले संविधान बनेपनि मुलुकमाथिको संकट अझै नहटेको बताउनुभयो ।
सवै राजनीतिक दलहरुले अव आफ्नो ध्यान देशको आर्थिक विकास गर्नु दिनुपर्ने सुझाव दिदैं उहाँले आर्थिक विकासले मात्रै जनताको मुहारमा उज्यालो आउने जिकिर गर्नुभयो । राप्रपा नेपाल १० बर्षमै मुलुकको चौथो ठूलो दल बनेको र सरकारमा पनि सहभागी भएको बताउँदै अध्यक्ष थापाले देश बचाउने र देश बनाउने जिम्मा राप्रपा नेपालको भएको ठोकुवा गर्नुभयो ।
राप्रपा नेपाल सुर्खेतका अध्यक्ष मानबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका सहमहामन्त्री मुकुन्दश्याम गिरी, आचार्यश्री बालकिशोर महाराज, केन्द्रीय सदस्य हिक्मत ढकाल, ओमहादुर जिसीलगायतको उपस्थिति थियो