
रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्न देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको प्रजिअ भट्टले जानकारी दिनु भयो । भित्तो काट्न असहज बनेपछि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । साभारः नेपालगाथा ।
Milan Shrestha । ११ असार २०७४, आईतवार १२:३३ बजे