
१५ साउन, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले मुनः मतदान गराउन आइतबार आदेश दिएको हो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना रोकिएको थियो ।
मेयरमा एमाले उम्मेदवार देबि ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला ९१ वटा मतपत्र च्यातिएको थियो ।
निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।
वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमाले नेताहरूले आरोप लगाएका छन् । माओवादी नेताहरुले भने रेणु दाहालले देबी ज्ञवालीसँगको मत अन्तर घटाइरहेको देखेर आत्तिएका एमाले कार्यकर्ताहरुले मतपत्र च्यातेको दाबी गरेका छन् ।
यसैविच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई दुभाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको उसले बताएको छ ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । १५ श्रावण २०७४, आईतवार १३:२७ बजे