पहिलो दिनमै नेपाललाई तीन स्वर्ण र एक कांस्य


ओएस नेपाल, काठमाडौँ ।

Parsuram-sarita-and-alisha-goldभारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसिपको नेपालले पहिलो दिन सुखद सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिदा नेपाली खेलाडीले ३ स्वर्ण, एक कांस्य जितेका छन् ।

पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए । पर्शुरामले बंगलादेशलाई ५-०, सिंगापुरलाई ३-२ तथा भारतलाई ५-० ले पराजित गरे । सरिताले भारतलाई ३-२, सिंगापुरलाई ४-१ तथा बंगलादेशलाई ५-० ले हराइन् ।

महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४-२ ले पाखा लगाएकी थिइन् । त्यसअघि एलिसाले भारतलाई ८-० र सिंगापुरलाई ५-४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ ।

पुरुष ६७ केजीमा मोहन कार्कीले कांस्यमा चित्त बुझाए । पहिलो चरणमा भारतलाई ६-० ले निराश पारेका मोहनले क्वाटरफाइनलमा बंगलादेशी खेलाडीलाई ४-२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसँग ४-६ ले चुकेपछि कांस्यमा सीमित भएका हुन् ।