
सुर्खेत, १९ भदौ । लामो समय देखि स्वयम्सेवकको रुपमा समाज सेवामा खटिँदै आएको नेपाल रेडक्रस सोसाईटीको ५४ औं नेपाल रेडक्रस दिवस सोमबार वीरेन्द्रनगरमा मनाईएको छ । रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेत जिल्ला रहि सबै भन्दा बढी पटक रक्तदान गर्ने द त्रिरत्न अनलाईन पत्रिकाका प्रधान सम्पादक प्रवासकुमारमा शाक्यलाई सम्मान गरेको छ ।
त्यस्तै, महिला तर्फ सबै भन्दा बढी १७ पटक रक्तदान गरको भन्दै ज्योती पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सुर्खेतका संयोजक छविलाल सिग्देलले रेडक्रसले सामाजिक रुपमा गरेको कामको प्रशंसा गरे । दिवसकै अवसरमा आफु पनि रेडक्रस सोसाईटी सुर्खेत शाखाको आजीवन सदस्य भएको घोषणा गर्दै उनले यो संस्थाले गर्ने हरेक काममा आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।
त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्राकृतिक प्रकोपका दृष्टिकोणले सुर्खेत जोखिममा रहेको भन्दै विपदको समयमा रेडक्रसको भुमिका महत्वपुर्ण रहेको बताए । उनले प्रकोपको जोखिम कम गर्नका लागि गर्नुपर्ने पुर्व तयारीका बारेमा पनि रेडक्रससँग नगरपालिकाले मिलेर काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले रेडक्रसको काम उदाहरणीय भएको भन्दै आगामी दिनमा रेडक्रसले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै थप काम गर्नुपर्ने बताए । रेडक्रसले गर्ने हरेक कामलाई प्रभावकारी बनाउनका लागि सबैको सहयोगको खाँचो रहने पनि न्यौपानेले बताए । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका अध्यक्ष रामलाल आचार्यले यस वर्ष आफ्नो संस्थाले महत्वपुर्ण काम गर्न सफल भएको बताए । सुविधा सम्पन्न आँखा अस्पताल स्थापना गरी स्तरीय सेवा दिन सफल भएको जानकारी दिँदै उनले लेकवेशी नगरपालिकाको कल्याणमा उपशाखा स्थापना गर्न सफल भएको बताए ।
त्यसैगरी नियमित एम्बुलेन्स सेवा, बाढी पिडीतका लागि राहत वितरण सेवालगायत धेरै भन्दा धेरै ठाउँ रेडक्रसको शाखा र कामलाई विस्तार गर्ने काम भईरहेको जानकारी दिए । यसैबीच, स्थापना दिवसका अवसरमा नै रेडक्रसले गत १६ गते आयोजना गरेको विद्यालय स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेहरुमा प्रथम जन माध्यमिक विद्यालय वीरेन्द्रनगरकी दुर्गा आचार्य, द्वितीय एसओएस हर्मन माईनरकी सृष्टि गौतम, तृतीय सैनिक आवासीय महाविद्यालय वीरेन्द्रनगरका अनिष वली र सान्त्वना स्थान हाँसील गर्ने जनमाविकै समिर राना रहेका छन् ।
उनीहरुलाई प्रथम, द्वितीय तृतीय र सान्त्वनालाई क्रमशः एकहजार, सात सय, पाँच सय र ३ सय रुपैयाँ नगद प्रदान गरिएको थियो । कार्यक्रममा रेडक्रसका निवर्तमान सभापति लिलाराम आचार्य, पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती, लायन्स क्लब अफ एमसी गभर्नर विजय पराजुली, लायन्स् क्लब अफ शिबबिहारका निवर्तमान अध्यक्ष मिलन श्रेष्ठ, अध्यक्ष बालकृष्ण श्रेष्ठ जनमाविका प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।



Milan Shrestha । १९ भाद्र २०७४, सोमबार ०८:०३ बजे