४४ करोडको सुनमा सुराकी कमिसन कति ?


 -कमल न्यौपाने

काठमाडौ, २३ भदौ । गएको सोमबार प्रहरीले विशेष सुराकीको आधारमा काठमाडौको क्षेत्रपाटीबाट ४४ करोड मुल्य बराबरको सुन बरामद गरेको थियो । रसुवा नाका हुँदै अवैध रुपमा राजधानी भित्रिएको ८८ केजी सुन भारत निकासी गर्ने तयारी भैसकेको अबस्थामा प्रहरी बरामद गरेको खुलिसकेको छ । सुन ल्याउन प्रयोग भएका गाडीका तीन जना चालक भने प्रहरीको हिरासतमा छन् । बरामद भएको ४४ करोड सुनको सुराकीवापत सुराकीले ३ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् । सुनको सुराकी दिए वापत १० प्रतिशत कमिसन पाउने व्यवस्था रहेको महानगरीइ प्रहरी परिषरले जनाएको छ । १० प्रतिशत सुराकी कमिसन भए पनि १० लाख रुपैयाँभन्दा बढी भए १० लाख मात्र पाउने व्यवस्था छ ।

४४ करोड रुपैयाँ बराबरको सुनको १० प्रतिशतले सुराकी कमिसन ४ करोड ४० लाख रुपैयाँ भए पनि १० लाख रुपैयाँभन्दा बढी भएकाले त्यति मात्रै कमिसन पाउँने प्रहरीको भनाई छ । त्यसमा पनि राज्यलाई २५ प्रतिशत कर कट्टा गर्दा ७ लाख ५० हजार आउने गणितीय सुत्रले देखाएको छ । ४४ करोडको सुराकी दिनेले कर कट्टापछि जम्मा ३ लाख ५० हजार पाउँने भएका हुन् । प्रहरी अनुसन्धान सकिएर अदालती प्रकृया टुङ्गिएपछि सो सुन राष्ट्र बैंकले खरिद गरिसकेको अबस्थामा मात्रै सुराकीले उक्त रकम पाउने व्यवस्था रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले २०७० असार २३ गते चीनको तातोपानी नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको ३५ किलो सुन बरामद गरेपछि सुराकीमा विवाद भएपछि सुराकी रकम कम गरिएको थियो । तस्करीको सुन बरामद बापत प्राप्त हुने वैधानिक कमिसनमा चलखेल भएपछि संसदीय समितिले कमिसन प्रावधानमा हेरफेर गरी नयाँ व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको निर्देशनअनुसार कमिसन प्रावधान परिमार्जन गरी नयाँ व्यवस्था ल्याइएको हो । यसभन्दा अगाडि सुराकी दिनेले बरामद भएको सुनको रकमबाट १५ प्रतिशत र अनुसन्धानकर्ताले १० प्रतिशत कमिसन पाउँदै आएका थिए ।

एक अर्ब ५९ करोड ५६ लाखको सुन मौज्दात अहिले नेपाल राष्ट्र बैंकसँग एक अर्ब ५९ करोड ५६ लाख रुपैयाँ बराबरको सुन मौज्दात छ । अवैध रुपमा भित्र्याएको सुन राज्यले के गर्छ ? धेरै नागरिकदेखि विज्ञहरुको मनमा प्रश्न उठेको हुने गरेको पाईन्छ । प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँनुपर्ने प्रावधान रहेको छ । राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्ने गरेको प्हरीको भनाई छ । प्रहरीले सुन समातिसकेपछि पक्राउ परेका अभियुक्तलाई राजश्व अनुसन्धान विभाग बुझाउने गर्दै आएको छ । राजश्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाउँछ र अभियुक्तलाई मुद्दा चलाउँछ ।

विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यो दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्याङ्कन गरिने प्रचलन रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार मूल्याङ्कन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा रकम भुक्तानी गर्छ र सुन आफ्नो गोदाममा थुपारिन्छ । सुनको शुद्धता राष्ट्र बैंकको टक्सार विभागमा गरिन्छ । राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउँन सक्ने नियम छ । कहिलेकाहीं आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिदै आईएको राष्ट्र बैंकले बताएको छ ।