तस्करसँग मिलेर औषधी पसलबाट लागुऔषधको कारोबार


२९ बैशाख, काठमाडाैं ।

प्रहरीले काठमाडौंका वीर अस्पताल वरिपरीका औषधी पसलमा छापा मारेर ठुलो परिमाणमा लागु औषध नियन्त्रणमा लिएको छ ।
४ ओटा औषधी पसलमा छापा मारी ठुलो परिणाममा लागूऔषध बरामद गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख डीआईजी जयबहादुर चन्दले बताए ।
डीआईजी चन्दका अनुसार ब्यूरोले वीर अस्पताल क्षेत्रका आयुष फर्मा, संतोष फर्मा, सत्यम फर्मा र आरफ फार्मेसी महाबौद्धबाट लागु औषध बरामद गरेको हो ।
“नियम विपरीत नियन्त्रित लागूऔषध बेचेको गुनासो आएपछि औषधी व्यवस्था विभागसँग समन्वय गरी छापा मारेका हौं,” डीआईजी चन्दले भने,“चिकित्सकको अनुमतिविना त्यस्ता खालका लागुऔषध विक्रि गरेको भेटियो । चिकित्सकको प्रेकिप्सनविना पसलेहरुले तस्करसँग मिलेर महंगोमा नियन्त्रित लागूऔषधको कारोबार गरेको भेटियो । उपत्यकाभरि निगरानी बढाएका छौं । अनुसन्धान जारी छ ।”
ब्यूरोको टोलीले ती औषधी पसलहरुबाट, डाइजेपाम, लोराजेपाङ, कोडाइन, कोलोनाजेपाम, मोरफिएम, सुल्फेट, अल्प्राजोलम लगाएतका ठुलो परिमाणमा नियन्त्रित लागूऔषध बरामद गरेको डीआईजी चन्दले बाह्रखरीलाई बताए । उनका अनुसार प्रहरीले पहिलोपटक औषधी पसलमा छापा मारेर यती धेरै परिमाणको औषधी बरामद गरेको हो ।
उनले भने, “लागूऔषध ओसारपसारमा प्रहरीले कडाई गरेपछि तस्करहरुले औषधी पसलेसँग मिलेर अवैध कारोबार थालेका छन् ।”
ब्यूरोले बुधबारदेखि उपत्यकाभित्रका अस्पताल तथा विभिन्न क्षेत्रमा रहेका औषधी पसलमा निगरानी बढाएको छ ।

साभारः बाह्रखरी अनलाइन