सरकारलाई मोर्चाको पत्र : वार्ताको वातावरण बनाउन आग्रह


काठमाडौं, वैशाख ३१ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाउन्जेल वार्तामा बस्नुको औचित्य नभएको जनाएको छ ।

मोर्चाले प्रधानमन्त्री कार्यालय सिंहदरबारका नाममा बिहीबार लेखेको पत्रमा २६ पटकसम्म विभिन्न चरणमा वार्ताका लागि प्रयास भए पनि सरकारले गम्भीरता नदेखाएकाले वार्ताको वातावरण बनाएपछि मात्र वार्तामा बस्ने उल्लेख छ ।

पत्रमा संविधानमा गरिएको पहिलो संशोधन आन्दोलनकारी र सरकारबीच भएको सहमतिअनुसार नभई आन्दोलनका बारेमा भ्रम सिर्जना गर्न मात्र गरिएको आरोप लगाइएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संयुक्त रुपमा पत्र पठाउनुभएको हो ।

यसअघि सरकारले वार्तामा आउन मोर्चालाई पत्र पठाएको थियो ।

साभारः उज्यालो अनलाइन