काँक्रेविहार क्षेत्रको पर्खाल निर्माण शुरु, बाटो बन्द हुने भएपछि स्थानीय चिन्तित (भिडियोसहित)


२३ जेठ, सुर्खेत । निर्माण शुरु भएसँगै विवाद भएर रोकिएको नेपालको पहिलो संरक्षित वन काँक्रेविहारको क्षेत्रमा पुनः पर्खाल निर्माणको काम शुरु भएको छ ।

तत्कालिन समयमा डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच/सात मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गर्नुभएपछि २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम रोकिएको थियो ।

त्यसपछि २०७९ मङ्सिर २८ गते संरक्षित क्षेत्रको सबै वन क्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेसँगै अदालतले गरेको फैसला अनुरूप अहिले डिभिजन वन कार्यालय सुर्खेतले पर्खाल निर्माणको काम अघी बढाएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च अदालतको फैसला बमोजिम संरक्षित काँक्रेविहार वन क्षेत्र कत्तीपनि नछोडेर काम शुरु गरिएको हो । उहाँ भन्नुहुन्छ “त्यो मुद्दामा वन कार्यालय प्रतिवादी भएर अदालतमा वन क्षेत्रको ५ मिटर छोडेर पर्यटन परि‍पथ निर्माण शुरु गरिएको जानकारी पेश गरेका थियौं तर हामीले पेश गरिए अनुसारको आदेश नभएर आफ्नो क्षेत्र कत्तिपनि नछोड्नु भन्ने फैसला भएकोले त्यही आदेशलाई कार्यान्वयन गरिएको हो ।”

यता वीरेन्द्रनगर वडा नं. ९ र  १० का तल्लो क्षेत्रका जनताहरु भने बाटो बन्द हुने भएपछि चिन्तित बनेका छन् । विशेष गरेर नयाँ गाउँ, घुस्रा, पर्सेनी, पातालगंगा लगाएतका तल्लो क्षेत्र जाने पिच बाटो नै बन्द हुने भएकोले चिन्तित बनेका हुन् । स्थानीयहरु पुर्खाको पालादेखि नै काँक्रेविहार छेउको बाटो प्रयोग गर्दै आएकोमा अहिले काँक्रेविहार भित्र पर्दा अब बाटो बन्द हुने भएपछि चिन्तित भएको बताएकाछन् ।