कालीकोटमा ९० प्रतिशत खेतीयोग्य जमिन सिंचाइविहीन


कृष्णराज धमाला

मध्यपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालयको तथ्याङ्क अनुसार कालिकोटको कुल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशत अझै सिञ्चाइविहीन रहेछ । जिल्लाको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय ९ हेक्टर जमिनमा मात्र सिंचाइ सुविधा पुगेको तथ्याङ्क उल्लेख छ ।

यसरी हेर्दा १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिनमा अझै सिंचाइ सुविधा पुगेको छैन । सिंचाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको र बाली उत्पादनमा पनि समस्या हुने गरेको क्षेत्रीय सिंचाइ निर्देशनालयका लेखा अधिकत प्रकाश पौडेलले बताए ।

‘मध्यपश्चिमका अन्य जिल्लाभन्दा कालिकोटमा सिंचाइको समस्याका कारणले थोरै जमिनमा खेती गरिएको पाइएको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन भए पनि सिंचाइको अभावका कारण बाँकी जमिन खेतीविहीन बनेका हुन्‍ा ।’कालिकोटमा सिञ्चाइ सव–डिभिजन कार्यालय भर्खरमात्र स्थापना भएको र त्यसले जिल्लामा सिंचाइका विभिन्न आयोजना सञ्चालनमा तिव्रता दिएको जिल्ला सिञ्चाइ सव–डिभिजन कार्यालय कालिकोटले जनाएको छ ।

‘सिञ्चाइका समस्याका कारण जिल्लाको धेरैजसो खेतीयोग्य जमिनमा बाली लाग्न सक्दैन,’ जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकत सुनिलकुमार सिंहले भने, ‘सबै खेतीयोग्य जमिनमा बाली लागेको भए यहाँ खाद्यान्न अभाव हुने थिएन ।’कालिकोटमा खाद्यान्न अभाव हुनुमा सिंचाइको समस्या नै प्रमुख रहेको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष कालीबहादुर मल्लले बताए ।

‘कर्णाली र विषेश गरेर कालिकोटमा खाद्य असुरक्षित जिल्ला हुनुमा सिंचाइको समस्या प्रमुख कारण हो,’ उनले भने, ‘सिंचाइको व्यवस्था हुने हो भने कालिकोट कहिल्यै खाद्य असुरक्षित जिल्ला हुँदैन ।’