चमेलियाबाट विधुत उत्पादन


दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने एक सय ३२ केभी प्रसारण लाइनमा शुक्रबारदेखि विद्युत् प्रवाह सुरु भएको छ।

दार्चुलाको शैल्य शिखर नगरपालिका १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रसारण लाइन निर्माण गरिएको छ। चार सय १२ वटा टावर रहेको यो प्रसारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको थियो।

यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ। चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजयकुमार दाहालका अनुसार प्रसारण लाइन बनिसकेकाले विद्युत चार्जको काम सुरु भएको हो।

सन् २००७ मा निर्माण सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको झण्डै १० वर्षपछि प्रसारण सुरु भएको हो। आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई शुक्रबार चार्ज गरेको हो। एक सय ३१ किलोमिटर लामो प्रसारण लाइनमा कुल चार सय १२ वटा टावर रहेका छन्।

तत्काल सिंगल सर्किटको माध्यमबाट उत्पादित विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले जानकारी दिए। चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधिन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उनको भनाइ छ।
यसमा दक्षिण कोरिया सरकारले ऋण सहयोग गरेको छ भने चीनको गेजुवा गु्रप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ।

सुरुमा २००७ देखि २०११ डिसेम्बरसम्मको निर्माण अवधि तोकिएको थियो। सो समयमा काम सम्पन्न हुन नसकेपछि उक्त समयसीमा २०१७ को डिसेम्बर पुर्‍याइएको थियो। चमेलिया जलविद्युत् आयोजनाको सुरुको अनुमानित लागत आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ।

साभारः अन्नपूर्णपोष्ट अनलाइन