ढाड भाँचिएर उपचारका लागी पैसा नहुँदा घरमै थलिए कर्ण


१५,मंसिर सुर्खेत । वीरेन्द्रनगर–१० का ५२ वर्षीय कर्णबहादुर नेपाली उपचार खर्च नहुुँदा रोगले घरमै थलिएका छन् ।
मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उनी शारीरिकरूपमा अशक्त भएका हुन् । उतिबेला ऋण र जग्गा बेचेर ढाडको उपचार गरेका कर्णले फेरि अर्को दुर्घटनामा परे । चार वर्षअघि उनी ह्वीलचियरबाट लडे । दुुवै खुट्टा भाँचिए । यस पटक पनि उनले ऋण गरेर उपचार गरे । अहिले शरीरमा घाउँ बल्झिदै गएपछि कर्णलाई उपचारमा समस्या भएको छ । अहिलेसम्म १३ लाख रूपैयाँ ऋण गरेर उपचार गरिसकेका छन् । उनलाई बिसेक भने भएको छैन । थप उपचारका लागि आर्थिक समस्या भएपछि उनले सबैलाई सहयोगको याचना गरेका छन् ।

उपचारका लागि पैसा नहुँदा रोगले थलिएर घरमै बस्न बाध्य भएको उनले सुनाए । उपचारका लागि बारम्बार काठमाडौं जानु परेकाले यतिधेरै रकम खर्च भएको उनले बताए । ‘कमाउने मान्छे मै हुँ । मेरो हालत यस्तो भइहाल्यो । पहिलेकै ऋण त्यतिकै थियो । फेरि दुवै खुट्टा भाचिएपछि ऋण गरेर उपचार गरेँ,’ उनले भने, ‘अब पहिलेकै ऋण बढ्दै गएको छ । तिर्न सकिएको छैन । कसले ऋण पत्याउँछ । बिहान साँझ खानै समस्या छ । शरीरमा घाउँ बल्झिदैँ गएको छ । घाउँ सफा गर्न जाने पैसा पनि छैन ।’

कर्णकी श्रीमती मीना नेपालीले अहिले चन्दा उठाएर उपचार गर्न थाले पनि खासै सहयोग नजुटेको बताइन् । ‘वडा कार्यालयले बनाइ दिएको सिफारिसको आधारमा चन्दा उठाउन जान्छु । एक जनाले पाँच दश रूपैयाँ दिन्छन् । कसैले त्यही पनि नदिएर हप्काएर पठाउँछन्,’ उनले भनिन्, ‘ऋण दिएका साहुु घरमा आएर पैसा माग्छन् । बिहान साँझ हातमुुख जोड्न समस्या छ । कसरी उपचार गर्ने रु ऋण कसरी तिर्ने रु’ अशक्त श्रीमान्को रेखदेख गर्नुपर्ने भएकाले चन्दा माग्न पनि सधंै जान नपाउने बताइन् ।
साभारःसांझा बिसौनी ।