पर्यटन प्रर्बद्धनका लागि हुम्ला कर्णालीमा र्याफ्टिङ सेवा सुरु ।


चैत्र-४, जनक बहादुर शाही, हुम्ला ।

 

पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हुम्ला कर्णालीमा र्‍याफ्टिङ सुरु गरिएको छ । कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रा.लि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टिङ तथा जल यात्रा सेवाले हुम्लाकै प्रसिद्ध ऐतिहासीक धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुना सम्म र्‍याफ्टिङ सेवा सुरु गरेको छ । यसले खार्पुनाथको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने देखिएको छ ।

पशुपतिनाथ, मुक्तिनाथ,बद्रीनाथ, केदारनाथ र खार्पुनाथको महिमा एउटै भए पनि यो ठाउ बिकट भएर हो या हामीले यसको प्रचार प्रसार गर्न नसकेर धार्मिक तथा पर्यटकीय तिर्थस्थल खार्पुनाथ ओझेलमा परेको छ । शनीबारबाट सुरु गरिएको र्‍याफ्टिङ सेवाले यस क्षेत्रको पर्यटन प्रर्बद्धनसंगै अन्य बिकासमा सहयोग हुने खार्पुनाथ गाऊपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताउनु भएको छ  ।

र्‍याफ्टिङ सेवाको उद्घाटन गर्दै अब यो सेवालाई सुरक्षित तबरले नियमीत संचालन गर्ने हो भने यसवाट बाह्य तथा आन्तरिक पर्यटकहरुले मनोरन्जन लिन पाउने प्रमुुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनु भयो ।

याफटिङ्ग सेवा उद्घाटन गरे पछि प्रमुुख जिल्ला अधिकारी शर्मा, सिमकोट गाँउपालिकाका अध्यक्ष पदम वहादुुर लामा, खार्पुनाथ गााउपालिकाका अध्यक्ष कर्ण वहादुर रावल, उपस्थिती सरकारी कार्यालयका प्रमुख र संचारकर्मीले ऐतिहासीक धार्मिक पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुना सम्मको ३ कि मि दुरीमा ५० मिनेट नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दा कहाँबाट के आयो भनेर नदिको किनार वारीपारी तछाडमछाड गरी हेर्ने स्थानीयको घुईचो थियो । कर्णालीको र्‍याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले हुम्ला जिल्लाको पर्यटन प्रर्बद्धनको विकासका लागि सरोकारवाला निकायहरुले चासो देखाउन थालेको हुम्ला र्‍याफ्टिङ तथा साहसिक जल यात्राका मेनेजर बुद्धिराम बुढाले बताउनु भयो ।