खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी सम्बन्धी प्रशिक्षण


११ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

३ दिन सम्म संचालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरु दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिबेणी तथा कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरु खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकाका वास फोकल पर्सनहरु, स्वास्थ्य संयोजकहरु, स्थानीय गैर सरकारी संस्थाहरुको गरी ३१ जनाको सहभागिता रहेको छ ।

नेपाल नगरपालिका संघका वास म्यानेजर उमाशंकर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानीयुक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि यो कार्यक्रम संचालन गरिएको बताउनुभयो उहाँका अनुसार पालिकाहरुको वास कार्यक्रमको दिगोपनाको लागि वाससँग सम्बन्धित ऐन, नीति निर्देशिका र वास प्लान निर्माणमा नेपाल नगरपालिका संघले प्राबिधिक सहयोग गर्दै आइरहेको छ ।

यस्तै युनिसेफ नेपालका राजेस सारु मगरले दिगो बिकास लक्ष्य प्राप्त गर्नका लागि सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पानीको प्रदुषणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको औल्याउनुभयो ।

विहीवार देखि सुरु भएको कार्यक्रमको उदघाटन भने कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका वास फोकल पर्सन रमेश सुबेदीले गर्नुभएको थियो । सुबेदीका अनुसार दिगो बिकास लक्ष्य पूरा गर्न सबै सरोकारवालाहरुको सहयोग आवस्यक रहेको, कर्णाली प्रदेश सरकारले प्रदेशमा पानी परिक्षण प्रयोगशाला स्थापना गरेको, प्रदेश लोकसेवा आयोगमा खानेपानी सुरक्षा योजना समाबेश गरेको, खानेपानी गुणस्तरलाई प्रदेशले प्राथमिकतामा राखेको, खुला दिशामुक्त अवस्थाको दिगोपनाको लागि भईरहेको प्रयासको बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।

युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण शनिवार सम्म चल्नेछ ।