डोकोले छुटायो, कालापहाड


हरिकष्ण कुमार्इ,

पुस २, जुम्ला ।

जुम्लाका कौडे वुढा यो समयमा डोको वुन्नमै वस्त छन् । प्रत्येक दिन २ डोको बनाउने बुढा महिनामा ६० डोको वुनेर परिवारमा समृद्धि ल्याएको बताउँछन् । गाउँमा युवा, वुढापाका सवै कामको लागि भारतको कालापहाड जाने गरेको वेला कौडे भने जंगलमा उम्रिएको निगालो संकलन गरेर डोको बुन्ने कार्यमा लागेका हुन ।

गाउँ सुनसान छ, डोको वनाउन शुरु गरेपछि बुढाको कालापहाड जान छुटेको छ । केही बर्ष अघि सम्म परिवारको गुजारा गर्नकै लागि भएपनि कालापहाड नगर्इ हुन्थेन, तर पछिल्लो पाँच वर्षमा उनले डोको वुनेर वेच्ने व्यवसाय थालेपछि घरखर्च गाउँमै जुटेको छ ।

वावुवाजेले जानेको सिप आफुले पनि सिके पछि जिवन चलाउन सहज भएको बुढाको कथन छ । गाउँमा ७७ घर छन । गाउँले सवै घरको लागि उनैले बुनेको डोको खरिद गर्ने गर्छन् । रारालिही, पोखरी, घोडेसिम, घोडे, पुररु लगायतका गाउँमा समेत उनको डोको खपत हुने गरेकोछ । निगालोको काम गर्दा स्वास्थ्यलार्इ सामान्य असर त पर्छ तर कालापहाड पुगेर फोहोर संकलन गर्नु भन्दा घरमै निगालोको पुत्ता खेलाएर परिवार चलाउनु निकै राम्रो भएको उनी बताउछने ।

घर देखि ३ देखि ४ घण्टा सम्म जंगलमा हिडेर निगालो संकलन हुन्छ । पहिलो डोको अन्न संग साट्‍थे । अहिले डोको रुपैया संग वेचिरहेका छन । प्रति डोकोको मुल्य ५ सय रुपैया रहेको उनले जानकारी दिए ।  डोको वुन्ने सिप नयाँ पुस्तामा हस्तान्तरण गर्नु अहिलेको जिम्मेवारी हो तर पछिल्लो पिढी डोको वुन्ने पेशा अंगाल्न नसकेको स्थानीय पुर्ण वहादुर वुढाले बताए । आफ्ना पुर्खाहरुको सिप अगालेको खण्डमा कुनैपनि युवाले विदेशिनु नपर्ने उनले बताए ।

कालापहाड जादा तिन चार महिनामा पन्ध्र विस हजार सम्म कमार्इन्थ्यो तर अहिले भने बार्षिक १ देखि डेढलाख रुपैया सम्म आफू आम्दानी गर्न सफल भएकोले विदेशीएका युवापुस्तालाई स्थानीय सिप कलाको सदुपयोग गरि व्यवसायीक रुपमा पेसा अंगाल्न सकेमा घरको समस्याहरु समाधान गर्न सकिने कौडे बुढा बताउँछने ।