जुम्लाको दुई गाउँ जिल्ला कै पहिलो छाउगोठ मुक्त घोषणा



हरिकृष्ण कुमाई
जुम्ला, पुस ३, जुम्लाका २ गाँउ छाउगोठ मुक्त गाउँ घोषणा भएका छन् । तिला गाउँपालिका ४ स्थित रावतवाडा र जोगिवाडा गाउँलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो । स्थानीय महिलाको सक्रियता, गाँउपालिका र गैरसरकारी संघसंस्थाको सहयोगमा निमित्त प्रमुख जिल्ला अधिकारी टेक वहादुर बुढाथापाले २ बस्तीलाई छाउगोठ मुक्त गाउँको रुपमा घोषणा गरेका हुन् । रावतवाडाका ३५ र जोगिवाडाका ६१ घरधुरी रहेको छ ।

सामाजिक संस्कार सहितको समाज परिवर्तनमा हाम्रो प्रतिवद्धता र छाउगोठ मुक्त समाज वनाउनका लागि नागरिक प्रतिवद्धता भन्ने नारा सहित छाउगोठ मुक्त अभियान थालिएको हो । रज्जश्वला भएको अवस्थामा महिला तथा किशोरीलाई छाउगोठमा नबसाली घरमै वसाल्ने र कठिन काममा नलगाउने साथै पोषणयुक्त खाना खुवाउने प्रतिवद्धता प्रत्येक घरका परिवारले गरेकाहुन् ।

छाउगोठ मुक्त गर्ने महिला तथा किशोरीलाई समाजमा प्रोत्साहन गर्न सार्वजनिक स्थान धारा, बाटो, विद्यालयमा वन्देज नगर्ने समुदायले वाचा समेत गरेका छन् । छाउ मुक्त समुदायलाई विकास निर्माण लगायतका सेवा सुविधामा उच्च प्रथामिकता दिने, छाउ प्रथा सम्वन्धि पाठयक्रम निर्माण गरि लागु गर्दै लैजाने, किशोरी मैत्री विद्यालय निर्माण गर्ने, स्वास्थ्य क्षेत्रले सचेतनाका क्रियाकलाप गर्नुका साथै स्वास्थ्य सामाग्री वितरण र घुम्ती शिविर सञ्चालन गर्ने प्रतिवद्धता स्थानीय सरकारले गरेको छ ।

महिला आयआर्जन तथा शसक्तिकरण कार्यक्रमलाई पहिलो प्रथामिकतामा राख्ने, जिल्ला प्रशासन र प्रहरीले सुरक्षा सहित छाउगोठ मुक्त अभियानमा सकारात्मक भुमिका खेल्ने प्रतिवद्धता जाहेर गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढाथापाले छाउ प्रथा राज्यले अपराधका रुपमा लिईसकेकोले कानुन बाहिर रहेर काम नगर्न सवैलाई सुझाव दिदै तिला गाउँपालिका ४ वाट शुरु भएको छाउगोठ मुक्त अभियान जिल्लाभरि विस्तार हुने  विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले स्थानीय महिला छाउगोठबाट घरमा बस्न थालेको खुसी व्यक्त गर्दै विभेदरहित समाज निर्माणका लागि गाउँपालिका सधै सकारात्मक भएर अघि वढ्ने प्रतिक्रिया दिए ।

जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयले छाउ प्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको भएपनि तिला गाउँपालिकाका महिलाको मागका आधारमा छाउ गोठमुक्त अभियानको शुरुवात गरेको हो । कार्यक्रममा शिक्षा कार्यालयका विद्यालय निरिक्षक खडानन्द चौलागाई, महिला तथा वालवालिका कार्यालयका सुस्मिता थापा, राससका कर्णालीका प्रमुख सुरजकुमार सिंह लगायतले कर्णालीको तिला गाउँपालिका जुम्लावाट छाउ गोठमुक्त अभियान थालिनु निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । छाउ प्रथा मान्ने र मान्न हुन्न भन्ने व्यक्ति तथा संस्थालाई सो अवसरमा दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँका महिलालाई सावुन,सेनेटरी प्याड र रुमाल दिइएको थियो ।