कोरोना संक्रमित तेश्रो व्यक्ति सार्वजनिक


कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित तेस्रो व्यक्ति सार्वजनिक हुनुभएको छ । सरकारले उहाँको पहिचान लुकाए पनि संक्रमित भने दियोपोस्ट अनलाइन पत्रिका मार्फत सार्वजनिक हुनभएको हो ।

अनलाइन पत्रिका दियोपोस्ट संग कुराकानी गर्दै कोरोनाबाट संक्रमित धादिङ्गको नेत्रावती डेबजोङ्ग गाउँपालिका ३ सेमजोङ्गका उरबहादुर तामाङ्ग सार्वजनिक हुनभएको छ ।

तामाङ्ग आफू मार्च १९ मा दुबईबाट नेपाल आएको र सोही दिन नेपाली समय अनुसार बेलुका साढे १० बजे नेपालमा ल्याण्ड भएको बताउँदै आफू अहिले स्वस्थ रहेको मात्रै होइन केही दिनमा घर फर्कने विश्वास व्यक्त गर्दै सार्वजनिक हुनुभएको हो ।

उहाँले होटलमा पार्टी दिएको हल्ला मात्रै भएको बताउनुभएको छ । १० महिना अघि पार्टी दिएको विषयलाई अहिले भाइरल बनाएको तामाङ्गले बताउनुभयो । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइशोलेशनमा रहेका उर बहादुरले आफूले रोगबाट जितेर फर्कने अठोट गरेका गर्नुभएको छ ।

उरबहादुर तामाङ्गका शब्दहरुः

मलाई कोरोना भाइरस संक्रमणपछि टेकु अस्पतालमा उपचाररत छु । मेरो अहिले स्वास्थ्य अवस्था निकै राम्रो छ । धेरै खोक्दा अलि समस्या हुँदो रहेछ । डाक्टरहरुले औषधी परिवर्तन गरिदिएका छन् । अलि सहज भएको छ । चार पाँचघण्टा देखि अझै राम्रो भइरहेको छ । पोलेको लसुन खाएको छु । त्यो खाएपछि राम्रो हुँदो रहेछ । दिनभर ठीक हुन्छ रातीको बेला अलि च्याप्दोरहेछ ।

शुरुमा अल्छि लाग्दो रहेछ । निन्द्रा पनि लाग्दो रहेछ । सुख्खा खोकी पनि लागेको थियो । हल्का ज्वरो पनि आएको थियो । मैले सोचेको थिएँ दुबईबाट आउँदा थकै लागेको त्यसैले होला । म उताबाट आएको २ दिनमा अलि असहज भएको हो । अंकल आन्टीले तिमी जाउ अस्पताल भन्नु भयो । फ्रान्सबाट आएको मान्छेलाई कोरोना लागेको छ रे तिमीलाई पनि भएको हुनसक्छ भन्नु भयो । अस्पताल जाँदा कोरोना संक्रमण पुष्टि भयो ।

एयरपोर्टबाट म सिधै बसुन्धरामा रहेको तनहुँ गेष्ट हाउसमा बसेको हुँ । मैले धादिङ जिल्लाको भनेपछि कसैलाई भेटेको छैन । होटलमा त भेट्ने कुरै भएन । यो १० महिना अघि म साउदी अरबबाट फर्किएपछि केही साथीलाई पार्टी दिएको थिएँ । तर, अहिले दुबईबाट आएपछि कसैलाई भेटेको छैन । विरामी थिएँ कसरी पार्टी दिने हो र ? होटलवालालाई बुझ्दाखेरी उसले यो हल्ला फैलाएको रहेछ । समाचारमा आएका कुराहरु गलत हुन् ।

होटलमा मैले अंकल र आन्टीलाई भेटेको थिएँ । उहाँहरुलाई चकलेटहरु दिएको थिएँ । म बसेको ठाउँमा आउनु भएको हो । उहाँहरुलाई परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको छैन । एक जना दाइलाई भेटेको थिएँ । मैले चिसो पानीमा नुहाएको कारण पनि एउटा लक्षण देखियो की जस्तो लाग्छ । दाइले दिएको भैँसीको मासु पनि खाएँ । अलि चिल्लो थियो । त्यहीँबाट मलाई गाह्रो भयो । अंकल कान्टीले क्वारेन्टाइनमा गएर बस्न सुझाउनु भयो ।

त्यसपछि अस्पताल गएर टेष्ट गराएपछि कोरोना संक्रमण देखियो भन्ने कुरा आयो । त्यसपछि म त छांगाबाट खसेजस्तो भएँ । पहिले देखि नै ज्वरो आउने त भइरहन्थ्यो । तर, कोरोना लागेपछि कस्तो कस्तो अनुभव भयो । अहिले मलाई ठीक छ । तर खोकी अलि दह्रो लाग्दो रहेछ । चार पाँच घण्टादेखि अलि कम भएको हो । एरपोर्टबाट म म ट्याक्सीमा बाट तनहुँ होटलमा आएर बसेको हुँ । होटलमा केही समस्या देखिएको छैन भन्ने कुरा आएको छ । मैले भेट गरेको अंकलआन्टीलाई बुझे अनुसार उहाँहरुलाई संक्रमण देखिएको छैन ।

अनी मैले भेटेको दाईलाई फोन गरेर भनेको छु । तपाईं र म सँगै बेडमा पल्टिएका थियौँ । मलाई कोरोना देखिएको छ । परिवारसँग नबस्नुस् भनेको छु । उहाँले मलाई केही छैन भन्नु भयो । तर मैले त्यस्तो भनेर कहाँ हुन्छ । परिवारको भविष्य सोच्नुस् भनेको छु ।

सबै ठाउँमा गलत न्युज आएका कारण स्ट्याटस लेख्न मन थियो । सार्वजनिक हुनलाई आफैले स्ट्याटस लेखौँ भनेर सोचेको थिएँ । फेरी पछि सबैले कराउन थाले अनी एक जना दाइले लेख्नु भयो रे उहाँलाई धेरै धन्यवाद ।

मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पनि सुरक्षित हुनुहुन्छ । उहाँहरु हाम्रो रुममा आउनु हुन्न । बाहिरैबाट उपचार गर्नुहुन्छ । टाढैबाट मेसिनबाट औषधी छर्किनुहुन्छ । उहाँहरु पनि सचेत हुनुपर्छ ।

यो रोगको औषधी पत्ता लागेको छैन । आफ्नै मनोबलले ठीक पार्नुपर्छ । म बाँच्छु भन्ने मनोबल मसँग छ । पहिलो दिन सबैको फोन आएर हैरान थिएँ । उनीहरुको आवाजले पनि तनाव हुँदो रहेछ । अहिले त्यस्तो अवस्था छैन ।

(दियालोपोष्ट संगको कुराकानी सम्पादित अंश https://www.diyopost.com/03/77936/)