वीरगञ्जको ग्यास उद्योगमा आगलागी, दुईको मृत्यु, दमकलसमेत जल्यो


आगो निभाउन गएका दुई कर्मचारी सम्पर्कविहीन, सारिँदै नजिकको बस्ती

५ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  २ जना सम्पर्कविहीन छन् । जोखिम बढेपछि नजिकको बस्ती समेत सारिँदै छ ।

आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा  लगिएकाे छ ।

दमकलमा रहेका हवल्दार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् । शवको पहिचान भएको छैन ।

आगलागी  नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रकहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि अागाे नियन्त्रणमा लिन सकिएकाे छैन ।

ग्यास लिक भएर आगलागी भएको बताइएको छ । ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रह्मनारायण जैसवालले बताए ।

सारिँदै नजिकको बस्ती

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास उद्योग नजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।

अासपासका बस्तीका मानिसहरू त्रसित भएका छन् ।

साभारः अनलाइनखबर