राजधानी माग्दै जुम्लामा आज राँके जुलुस


हरिकृष्ण कुमाई, जुम्ला
पुस २१,
६ नम्वर प्रदेशको राजधानी कर्णालीमा हुनु पर्ने माग राख्दै जुम्लामा आज राँके जुलुस निकालिएको छ । हिजो पहिलो दिन सदरमुकाम खलंगामा र्रयाली निकालेर विरोध प्रदर्शन गरिएको थियो भने आज दोस्रो दिन राँके जुलुस निकालिएको हो । संघियताको मर्म भनेकै दुर्गम पिछडिएका क्षेत्रलाई अधिकार प्रत्यायोज गर्ने हो, तर सुविधा सम्पन्न ठाउँमा राजधानी तोक्न लागिएको प्रति आपत्ती जनाउदै जूम्लावासीले आन्दोलन थालेका हुन ।

टुडिखेल मैदानको गेटवाट शूरु भएको जुलुुस जिल्ला प्रशासन कार्यालय हुदै अदालत अगाडी गएर सकिएको थियो ।
युवा अगुवा अनुप थापाले कर्णालीलाई मुख्यमन्त्री भन्दा पनि राजधानी चाहिएकोमा जोड दिए । मुख्यमन्त्रीको कार्यकाल पाँच वर्ष हुन्छ, सकिन्छ उनले भने, तर कर्णाली राजधानी हुदा सदावहार परिवर्तन तिर उन्मुख हुन्छ । त्यसैले कर्णालीको जुनसुकै जिल्लामा होला, राजधानी कर्णालीमा नै तोकिनु पर्ने माग उनको छ ।

नागरिक समाजका अगुवा राजवहादुर महत कर्णालीमा राजधानी हुनु पर्ने मागलाई कर्णालीका ५वटै जिल्लाले समर्थन गर्नु पर्ने बताउँछन । यो आन्दोलनको शुरुवात नागरिक समाजले गरेको छ, तर यसको नेतृत्व अब राजनैतिक दलले गर्नुपर्ने जरुरी भएको उनले बताए । राजधानीका नाममा मुख्यमन्त्रीको वार्गेनिङ गर्न नपाईने भन्दै जनता देखि जनप्रतिनिधी सम्म राजधानीका लागि आन्दोलनमा होमिन आग्रह गर्दै , उनले भने, हामीलाई राजधानी चाहिएको छ । त्यसैका लागि हामी सडकमा उत्रिएका छौ ।

राँके जुलुस मार्फत कर्णाली आन्दोलनका लागि तात्तिएको सन्देश प्रवाह गर्न जुम्लामा भिन्दाभिन्दै कार्यक्रम गर्न थालिएको आयोजकले जनाएको छ । कर्णालीको नाम बेचेर अहिले पनि कैयन मान्छेको जीवन परिवर्तन भएको छ, तर कर्णालीको अवस्थामा परिवर्तन नभएको प्रति जुलुसका सहभागीहरुले आपत्ती जनाएका छन । नागरिक समाज जुम्लाले कर्णाली राजधानीका पक्षमा आवाज बुलन्द गर्न सम्पूर्ण कर्णालीबासीमा आग्रह गरेको छ ।

अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा घोषणा गर, कर्णाली एकता जिन्दावाद, संघियताको मर्मअनुसार राजधानी स्थापना गर, लगायतका नारा लगाउदै राके जुलुस निकालिएको थियो ।