आफ्नै भाइबाट बलात्कृत युवतीको जागिर पनि खोसियो


२३ चैत, भक्तपुर । गत फागुन १२ गते मध्याहृनमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेकी उनले जागिरसमेत गुमाएकी छन् ।
अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत जान्छ भनेर लुकाउने प्रवृत्ति हाबी भएको नेपालीे समाजमा बलात्कार गर्ने भाइलाई सजाय दिलाउँदा उनले स्याबासी पाउनुको बदला बेसहारा भएर भौँतारिनुपरेको छ ।
घर र समाजले मात्रै उनलाई निकालेको होइन, तीनवर्षदेखि आफू काम गर्दै आएको काठमाडौँ रत्नपार्कस्थित फन पार्कको मालिकले समेत जागिरबाट विदा दिए । उनी बेरोजगार बन्न पुगिन् ।
उनले रुँदै भनिन् ˗ ‘घरमा दिउँसै भाइले बलात्कार गर्‍यो । आफ्नै घरमा म असुरक्षित भएँ । भाइविरुद्ध उजुरी दिएको भन्दै परिवार र आफन्तले निकालिदिए । न जाने ठाउँ छ न बस्ने ठाउँ ।’
उनले थपिन् ˗ ‘घटना थाहा पाएपछि फनपार्क सञ्चालकले जागिरबाट निकालिदियो । बिहे गरेर जीवनभर सँगै बाँच्ने कसम खाएको प्रेमीले छाडिदियो । अब म कहाँ जाउँ, के गरौँ ?’
स्नातक तहको अध्ययन गरिरहेकी उनी अहिले काठमाडौँको एउटा गल्र्स होस्टेलमा बस्दै आएकी छन् । विगतमा आफूले काम गरेर बचत गरेको पैसाले मासिक ७ हजार तिरेर बसे पनि अहिले पैसा सकिन लागेर उनमा चिन्ता थपिएको छ ।
उनी भन्छिन् ˗ ‘म पढाइलाई निरन्तरता दिन चाहन्छु । स्नातकोत्तरसम्म पढ्ने त्यसपछि लोकसेवाको परीक्षा उत्तीर्ण गरी सरकारी नोकरी गर्ने चाहना छ’, तर अहिले बाँच्नकै लागि नोकरीसमेत नहुँदा उनका इच्छा र सपनाहरु चकनाचुर भएका छन् ।
आठ वर्षअघि बुबा बितेपछि ट्राफिक प्रहरीमा रहेका दाइ, थिमिकै एक विद्यालयमा पढाउने दिदी र आफैँले घर व्यवहार धान्दै आएको बताउने उनी भन्छिन् ˗’भाइले मलाई बलात्कार गरेको कुरा आमा, दिदी, आफन्त कसैले विश्वास गरेनन् । परिवारका सबैले जाहेरी फिर्ता लिनू भनेर धेरै पटक दबाब दिए । भाइबाटै थप असुरक्षित महसुस गरेर मैले मानिनँ । त्यसपछि परिवार पनि आफ्नो भएन ।’
गत फागुन २८ गते भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नं ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्य भन्छिन् – ‘आफ्नो सबै भएर पनि बेसहारा बन्नुपरेको उनलाई कसैले रोजगारी दिए जीवन अलि सजिलो हुने थियो ।’
साभारः अनलाइन खबर