हिमपात नहुदाँ हिउँदे बालीको उत्पादनमा कमी आउने



अविरल ढकाल, जुम्ला
माघ ८
भदौ महिनमा देखि जुम्लामा पानी नपरे पछि जुम्लाका किसानहरुले लगाएको हिउँदे बालीको गह्रा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमाली जिल्लामा हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो समयमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ, भने अर्को तर्फ तुषारोले बाली नष्ट बनाएको छ । खडेरीका कारण केही किसानले खेतका गह्रा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले जुम्ली किसानहरुले यो वर्षधेरै गह्रा तथा खेतमा हिउँदे बाली लगाएका छैनन् ।

“पुषको हिउँ शिला माघको हिउँ विला” स्थानियको जन जिब्रोमा प्रचलित उखान आज भोली एकादेशको कथा जस्तै भएको छ । यो वर्ष खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने, भोकमरीको समस्या बढ्ने चिन्ता स्थानीयले ब्यक्त गरेका छन् ।  पातारासी १ गाउँका स्थानीय किसान रमेश बुढाले भने आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको पिडा बताए । हामी किसानले जति दुःख गरे पनि आकाश बाट हिउँदको समयमा हिउँ नपरे सम्म हिउँदे वाली राम्रो नहुने उनले बताए ।

जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्‍याउँदा स्याउ उत्पादनमा समेत क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताए । मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनले भने ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताउनुभयो । “माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,” सूचना अधिकारी देवकोटाले भने । उनका अनुसार यहाँको ३ हजार ८०० हेक्टर क्षेत्रफलमा जौँ, २ हजार १०० हेक्टरमा गहुँ र ३ हजार ३०० हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौँ र गहुँबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।