नेपाल कम्यूनिष्ट पार्टीद्वारा जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता


कृष्णराज धमाला

११ माघ, कालिकोट
नेपाल कम्यूनिष्ट पार्टीले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ । देशैभरी ३ महिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान सञ्चालनका क्रममा जनसत्ता घोषणा तथा त्यसको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिएको पार्टीले जनाएको छ ।

ने.क.पा. का कर्णाली ब्यूरो इन्चार्ज एटम बिसिका अनुसार माघ, फागुन र चैत्र महिना गरी ३ महिने अभियानमा दलाल तथा प्रतिक्रियावादी राजनैतिक चरीत्रको भण्डाफोर, सामाजिक दलाल पुजीबादी राजनैतिक चरित्रको भण्डाफोर, एकिकृत जनवादी क्रान्तिका बारेमा जागरण गर्ने, जन स्तर सम्म संगठन सुदृढ तथा बिस्तार गर्ने, पुरानो सत्ताको खारेज र नयाँ जन सत्ता बिस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ ।

नयाँ सत्तालाई ब्यबस्थित र सुदृढ बनाउदै जाने रणनिति अनुसार पार्टी नेता कार्यकर्ताहरु युद्ध स्तरमा लागिरहेको बिसिको भनाई छ । ब्यूरो इन्चार्ज बिसिले कर्णालीमा जनसत्ता संचालन भइरहेको जानकारी दिदै यो प्रक्रिया देशैभरी लागु गर्ने अभियान थालीएको बताउनु भयो । पार्टी राष्ट्रघात, भ्रष्टाचार, कमिसन, कालोबजारीका बिरुद्ध जनप्रतिरोध गर्ने पार्टी रणनिति अनुसार काम भइरहेको भन्दै जन प्रतिनिधिहरुका ब्यबहार अनुसार आफूहरुले पनि आफ्नो ब्यबहार देखाउने बताउनु भयो ।

यो अभियानले मूलुक एक पटक पक्कै हल्लिने र धक्का पुग्ने दाबि गर्दै ब्यूरो इन्चार्ज बिसिले समुन्नत नेपाल निर्माणको अभियानमा आफूहरु लागि परेको पनि जिकिर गर्नुभयो ।