
२०६३ वैशाखमा प्रधानाध्यापक प्रयागदत्त उपाध्यायको सरुवा भएपछि कर्णाली मावि, जुम्लामा नयाँ प्रधानाध्यापकको खोजी भयो। स्थानीय स्रोतबाट भर्खरै मावि सञ्चालन भएकाले त्यहाँ प्रधानाध्यापक हुने सरकारी योग्यता पुगेका शिक्षक थिएनन्। त्यस्तैमा सोही विद्यालयकी शिक्षिका कान्तिका सेजुवाल प्रधानाध्यापक हुन अघि सरिन्।
उनको आँट देखेर सुरुमा त स्थानीय समुदाय आश्चर्यमा पर्यो। उनीहरूमा ‘महिलाले पनि मावि चलाउन सक्लिन् र ?’ भन्ने आशंका थियो। तर, विद्यालयको प्रशासनिक जिम्मेवारी लिएको तीन वर्षमै कान्तिकाले महिलाले पनि विद्यालय चलाउन सक्छन् भनेर प्रमाणित मात्र गरिनन्, कर्णाली माविलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाइन्। एसएलसी परीक्षामा कर्णाली माविले जिल्ला प्रथममा ‘ह्याट्रिक’ नै गर्यो।
कान्तिकाको जीवनमा यस्तै क्षण दुई महिनाअघि आयो। स्थानीय तह निर्वाचनमा कांग्रेस तर्फबाट चन्दननाथ नगरपालिकामा मेयरको खोजी भयो। आधा दर्जन आकांक्षी निस्किए। त्यसमा दाबी गर्ने कान्तिका एक्ली महिला थिइन्। जिल्लाको पार्टी पंक्तिमा ‘महिलालाई मेयर किन ? उपमेयर त आरक्षित छँदैछ नि !’ भनेर पन्छाइदिए। कान्तिकाले हार खाइनन्। नगर समितिदेखि जिल्ला कार्य समितिले अर्कै पुरुषको नाम सिफारिस गरे। तर, कान्तिकाको क्षमताबाट परिचित केन्द्रीय नेतृत्वले जिल्लाको सिफारिस लत्याउँदै उनलाई उम्मेदवार बनायो। केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध जुम्लामा सभापति शेरबहादुर देउवा र सांसद ललितजंग शाहीको पुत्ला जलाइयो।
१० वडामध्ये चार वडामा कांग्रेसले उम्मेदवारी नै दिएन। एउटा वडामा कांग्रेसकै नेताले स्वतन्त्र उम्मेदवारी दिए। तर, कान्तिका विचलित भइनन्। उनी चुनावी दौडमा वायुपंखी घोडाझैं अगाडि लम्किइन्। र, इर्ष्यालाग्दो परिणामसहित विजयको झन्डा फहराइन्। उनको पार्टीको तर्फबाट उपमेयरका उम्मेदवार र अधिकांश वडाध्यक्षका उम्मेदवार पराजित हुँदा पनि उनले विजयको झन्डा फहराइन्। ‘लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनताको माया र विश्वास हो, मैले यही माया पाएर सफलता हात पारेँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘म अब जनताको माया र विश्वासलाई हृदयमा राखेर अघि बढ्नेछु।’ कान्तिका ‘म्याडम’ !
‘कान्तिका म्याडम’ जुम्लामा यो उनको परिचय हो। लामो समय शिक्षण गरेर सफल विद्यालय प्रशासक भएकाले पनि उनी ‘म्याडम’ का रूपमा लोकप्रिय छिन्। उनी जुम्लामा माध्यमिक विद्यालयको पहिलो महिला प्रधानाध्यापक हुन्। बिहे गरेपछि २०४५ सालमा एसएलसी गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र स्वास्थ्य शिक्षामा ‘डबल’ स्नातकोत्तर (एमए) गरेकी छन्।
साभारः सेतोपाटीअनलाइन
Prawash Kumar Shakya । ४ जेष्ठ २०७४, बिहीबार ०९:०१ बजे