कर्णाली प्रदेश प्राप्ति आन्दोलनका घाईतेहरुलाई ईन्सेक सुर्खेतको सहयोग


२३ वैशाख, सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ ।

आज (सोमबार) कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०/१० हजार रुपैयाँ नगद सहयोग गरेको छ । आन्दोलनका क्रममा गोली लागेर घाईते हुनभएका अनिष पन्त, नरबहादुर पुरी र रामबहादुर श्रेष्ठलाई नगद सहयोग गरेको हो ।

आन्दोलनका क्रममा गोली लागेका चारै जनालाई हवाईजहाज चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको थियो । त्यसक्रममा लागेको खर्च सरकारबाट उहाँहरुले पाउनुभएको छैन् । यातायात खर्च पाउन बारम्बार काठमाडौं जाँदा थप खर्च हुने गरेकोले घाईतेहरुलाई सहयोगस्वरुप यातायात तथा समन्वयात्म खर्चका रुपमा रकम प्रदान गरिएको ईनसेक सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

‘आफ्नो अधिकारका लागि खर्च गरिरहेकाहरुलाई हामीले पनि आफ्नो तर्फबाट सहयोग गरेका छौँ ।’ सुवेदीले भन्नुभयो । २०७२ साउन २५ गते प्रहरीको गोली लागेको अनिष, नरबहादुर र रामबहादुरले आफूले उपचार गराउन जाँदा लागेको खर्च माग गर्दै बारम्बार काठमाडौं जाँदा पनि नपाएपछि ईनसेक सुर्खेतमा २०७५ माघ १८ गते समन्वय गरिदिन भन्दै निवेदन दिनुभएको थियो ।निवदेनका आधारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ईन्सेकले पहल गरिदिन आग्रह गरेको थियो ।

अझसम्म पनि घाईतेहरुले पाउनुपर्ने यातायात खर्च पाउन नसकेकाले ईन्सेकका तर्फबाट यातायात खर्चस्वरुप सहयोग गरेको सुवेदीले बताउनुभयो । घाईतेहरुको यातायात खर्च उपलब्ध गराउन ईन्सेकले पहल गरिरहेको उनले जानकारी दिनुभयो ।