कृष्णराज धमाला, कालिकोट
१४ माघ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लामा ९ जना मात्र कुष्ठरोगका बिरामीहरु रहेको तथ्यांक सार्बजनिक गरेको छ । आईतबार ६५ औ राष्ट्रिय कुष्ठरोग दिवस मनाउदै गर्दाा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सो तथ्यांक सार्बजनिक गरेको हो ।
राष्ट्रिय कुष्ठरोग दिवस सफल पारौँ, कुष्ठरोगीलाई माया गरौँ भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्म बजारमा र्याली सहित कोण सभा गरी दिवस मनाउने क्रममा तथ्यांक सार्बजनिक गरीएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीको अध्यक्षतामा भएको कोणसभामा सरोकारवालाहरुले कालिकोट जिल्लामा कुष्ठरोग न्यूनिकरणका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव कटकबहादुर महतले जिल्लामा ९ जना कुष्ठरोग संक्रमितहरुले उपचार सेवा लिईरहेको जानकारी दिदै जिल्लाका ग्रामिण स्तरका कुष्ठरोगको सचेतनाको अभाव रहेको जानकारी दिनुभयो । उहाँले यसका लागि सचेतना अभियानको खाँचो रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले कुष्ठरोग संक्रमितहरुलाई समाजले हेला नगरी उपचारद्धारा निको पार्न सबैले सहयोग गर्नुपर्ने भन्दै कुष्ठरोग लागेका व्यक्तिहरुलाई छुन समेत नहुँने परम्परागत गलत मान्य रहेकोले यसको अन्त्य गरी उपचार गरे सहजै कुष्ठरोग निको हुन्छ भन्ने सन्देश सबैतिर फैलाउन जरुरी रहेको बताउनुभयो ।



Milan Shrestha । १४ माघ २०७४, आईतवार १८:०४ बजे