बजार व्यवस्थापन अभियान अवधारणा सार्वजनिक


कृष्णराज धमाला

१९ माघ । सुर्खेत । वीरेन्द्रनगर नगर पालिकाले बजार एबं शहर ब्यबस्थापन अभियान २०७४ सम्बन्धि अबधारणा पत्र सार्बजनिक गरेको छ । ६ नं. प्रदेशकोे प्रस्ताबित राजधानीका रुपमा बिकास हुदै गरेको र बढ्दो शहरीकरण सँगसँगै जथाभावी फोहोर फाल्ने, सडक फुटपाथ, सार्बजनिक क्षेत्रमा अतिक्रमण गरी ब्यापार ब्यवसाय गरिएका कारण नगरको स्वस्थता एबं सौन्दर्यता माथि चुनौति भएकाले यसको नियन्त्रण एबं नियमनको लागि अभियान सञ्चालन गर्न लागिएको हो ।

सार्बजनिक एवं सडक फुटपाथ अतिक्रमण कार्यलाई नियन्त्रण गर्न, फोहरका कारण जाम भएका नालाहरुको सफाई गर्दै जथाभावी फोहोर फाल्ने कार्यलाई निरुत्साहीत गर्न बजार एबं शहर ब्यबस्थापन अभियान २०७४ सञ्चालन गर्न लागिएको बताइएको छ ।

अभियान सफल पार्न नगरपालिकाले ३/३ चरणमा सरोकारवालाहरुसँग समन्वय बैठक, वडा स्तरीय सर्बपक्षिय बैठक, सरसफाई बिशेष अभियान, नाला सफाई अभियान सञ्चालन गर्नेछ । यसैगरी कुहिने नकुहिने फोहोर छुट्याई संकलन गर्ने, सामुहिक अनुरोध गर्ने, हेडिगं र गमला राख्ने, फुटपाथ ब्यबस्थापन गर्ने, सार्बजनिक क्षेत्र अतिक्रमण नियन्त्रण गर्ने, सडक क्षेत्र अतिक्रमण नियन्त्रण गर्ने, पार्किङ्ग ब्यवस्थापन गर्ने कार्य योजना अबधारणा पत्र मार्फत सार्बजनि गरेकोछ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खड्कले इको क्लव गठन गर्ने, सम्मान, दण्ड सजाय तथा दिगोपनका लागि संयन्त्र विकास गरी बजार एबं शहर ब्यबस्थापन अभियान २०७४ सञ्चालन गरिने बताए ।