बुलबुले ताल-काँक्रेविहार द्रुतमार्गबाट जोडिने


१३ फागुन, सुर्खेत । सुर्खेतको पहिचान बनाउने प्रमुख पर्यटकिय स्थल बुलबुले ताल र काँक्रेविहार हुन । यी दुवै महत्वपूर्ण पर्यटकिय स्थलको दुरी बढीमा दुई किलोमिटर मात्रै रहेको अनुमान छ । नजिकै रहेका दुवै पर्यटकिय स्थलसम्म पुग्ने मोटरबाटोका कारण दुवैको दुरी लामो भएको हो । बुलबुले ताल र काँक्रेविहार जोड्न विचको भागमा रहेका व्यक्तिगत जग्गा अधिग्रहण गरी ठुलो ताल बनाएर डुङ्गा चलाउनेसम्मका चर्चा परिचर्चा हुने गरेका थिए । नेताका भाषण, भेला, गोष्ठीमा कुरा मात्रै हुने तर बैकल्पिक उपायको भने खोजि गरिएको थिएन ।

यसै विषयमा वीरेन्द्रनगर–१० वडापालिकाले भने नयाँ विकल्पसहितको योजना बनाएको छ । वडा अध्यक्ष रत्न बहादुर बुढाको अगुवाईमा बुलबुले–काँक्रेविहार जोड्ने द्रुत (छोटो) मार्ग निर्माणका लागि नयाँ योजना अगाडी सारिएको छ । बुलबुले ताल भएर बग्ने इत्राम खोलाको भाग छुट्टयाउँदै, संरक्षण गर्दै खोलाको दुवै किनार मोटरबाटो निर्माण गर्न वडाले नयाँ योजना अगाडी सारेको हो ।

‘सुर्खेतका महत्वपूर्ण दुई पर्यटकिय स्थललाई हामीले जोडने योजना बनाएका छौं’ वडा अध्यक्ष बुढाले भने ‘तत्काल हामीले जग्गा अधिग्रहण गरेर त्यो सम्भव छैन तर त्यही बिचबाट बग्ने इत्राम खोलाको संरक्षण गरेर बैकल्पिक मार्ग निर्माणमा लागेका छौं ।’ इत्राम खोलाको भागलाई छुट्टाएर तटबन्धन गर्दै वारीपारी रहेका दर्ता जग्गा धनीहरुको सहमतिमा दुवै तर्फबाट ८ देखि १२ मिटर सम्मको मोटर बाटो निर्माणको प्रस्ताव गरिएको छ ।

यही बाटो बुलेबुले–काँक्रेविहार जोड्ने सबैभन्दा छोटो मोटर बाटो हुनेछ । वीरेन्द्रनगर–९ र १० भएर बग्ने इत्राम खोला वरिपरीका जग्गा धनिहरुको भेला बोलाइएको छ । वडा नं. १० का वडा अध्यक्ष रत्न बहादुर बुढाको अगुवाईमा जग्गा धनीहरुको भेला बोलाइएको हो ।

जग्गा धनीहरुलाई यही फागुन २४ गते शनिबार दिनको ठिक २ बजे बुलबुले पार्क इत्राम खोला नजिकै भेला बोलाइएको वडा अध्यक्ष बुढाले जानकारी दिए । उहाँले भन्नुभयो ‘वडामा विकासलाई चरणबद्ध, नमूना योग्य बनाउँदैछौं । हाम्रै वडामा सुर्खेतका महत्वपूर्ण पर्यटकिय स्थल पर्ने भएकाले यिनको संरक्षण र दिगो विकासका लागि वडाले छुट्टै योजना बनाएर लागेको छ ।