राष्ट्रिय सभाको निर्वाचन हुँदै, नतिजा आजै राति आउनसक्ने


कृष्णराज धमाला
सुर्खेत, २४ माघ – राष्ट्रिय सभा सदस्यको चयनका लागि आज राष्ट्रियसभाको निर्वाचन सञ्चालन भइरहेको छ । प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरमा विहान १० बजेबाट मतदान शुरु भएको हो ।
जम्मा १९८ मतदाता रहेका प्रदेश नम्बर ६ मा वाम गठबन्धनका तर्फबाट ८ जना र नेपाली कांग्रेसका तर्फबाट ४ जना गरी जम्मा १२ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् ।

यो निर्वाचनले केन्द्रीय सरकार गठनको ढोको खोलेको मतदान पछि नेताहरुले प्रतिक्रिया दिएकाछन् । राष्टिय सभाका उम्मेदवार जीवन बुढाले मतदान पछि भने ‘तीनै तहका निर्वाचन सम्पन्न भइसकेकाले यो चुनावले नयाँ सरकार बन्ने बाटो खोलेको छ । उनले थपे यो निर्वाचन सँगै नयाँ सरकारले आर्थिक समृद्धिको यात्राको शंखघोष गर्नेेछ ।’
प्रदेश सभासद राजबहादुर शाहीले नागरीकले स्थायी सरकार पर्खीरहेकाले वाम गठबन्धनलाई बहुमत मार्फत नागरीकका सपना साकार हुने बताए । हामी र नागरीकले देखेका सपना पूरा गर्ने अवसरको ढोका खुलेको भन्दै समृद्धिको यात्राको थालनी भएको उनको भनाई छ ।

निर्वाचन दिउसो तीन बजेसम्ममा सकिने कार्य योजना छ । सम्भवतः आजै राति सम्म मतगणना सकेर मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।