निमित्तको भरमा चल्दै स्थानीय तह


बिस्नप्रसाद न्यौपाने
माघ २६ । कालिकोट ।
कालिकोटका स्थानीय तहहरु विगत लामो समयदेखि निमित्त कै भरमा सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ति कार्यालयहरु निमित्तको भरमा सञ्चालन हुँदै आएका हुन् । कालिकोटका ९ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहले लामो समयदेखि निमित्त कै भरमा आफ्नो कामकारवाही सञ्चालन गर्दै आएको जिल्ला समन्वय समिति कालिकोटले जनाएको छ ।

कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिला गुफा नगरपालिका र कालिका गाँउपालिका बाहेकका पलाता गाँउपालिका, पचालझरना गाँउपालिका, शान्नित्रिवेणी गाँउपालिका, नरहरीनाथ गाँउपालिका र महाँवै गाँउपालिका गरी पाँच वटा स्थानिय तह निमित्तकै भरमा संचालन भईरहेका छन् ।

यि सवै गाउपालिकाहरु गत बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्बाचन यता निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन हुँदै आएका हुन् ।

जिल्ला समन्वय समिति कालिकोटका अनुसार जिल्लामा अधिकृत स्तरको कर्मचारीहरुको अभावका कारण निमित्त प्रमुखको जिम्मेवारी दिएर नासु सो सरहका कर्मचारीहरुलाई दिएको छ । स्थानीय सरकारका रुपमा परिचित स्थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारीको भूमिकामा खटाउने भनेपनि कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा कर्मचारकिो अभावका कारण समस्या भएको हो । जनप्रतिनिधिको काम नितीगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभावकारी कार्यान्वय हुन नसकेको जनप्रतिनिधिहरु बताउँछन् ।

दरबन्दी अनुसारका कर्मचारी छैनन्, जिल्लामा रहेका ८२ वडाहरु मध्य झण्डै ८० वटा वडाहरु त वडा सचिव बिहिन छन् । त्यसमा पनि कार्यकारी कर्मचारी नहुँदा निमित्त कर्मचारीको भरमा दैनिक काम सञ्चालन भैरहेको हो ।

कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनले विगतका गाविस सचिव नै अहिले निमित्त कार्यकारी अधिकृत भएर कार्य संचालन भईरहँदा आफुलाई आवश्यक पर्ने नीतिगत सहयोग तथा अहिलेको प्रबिधिसँग जोडिएर सेवा प्रबाह गर्न समस्या भएको बताउँदै गाउँपलिकाका कर्मचारीको दोहरो जिम्मेवारी भएका कारण काममा ढिला हुने गरेको अध्यक्ष सेजुवालले जिकिर गरे ।