३० पुस सुर्खेत- नेपाली बालबालिकाको जीवन बदल्न योगदान गरेको भन्दै विश्वचर्चित सिएनएन हिरो अवार्ड पाएकी अमेरिकी युवती म्यागी डोयन अहिले सुर्खेतमा आफूमाथि लागेको अनावश्यक आक्षेपले तनावमा छिन्। उनीद्वारा स्थापित कोपिला भ्याली सेवा समाजका पूर्वकर्मचारी र केही पत्रकार आफूमाथि खनिएको म्यागीको आरोप छ। उनीहरूको निरन्तरको ‘प्रहार‘ ले आफ्नो ज्यान खतरामा परेको भन्दै उनले सरकारसँग सुरक्षा मागेकी छन्।
समाजका अध्यक्ष टोपबहादुर मल्लबाट यौनदुर्व्यवहारको सिकार भएको भन्दै एक पूर्वकर्मचारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्। सोही आधारहीन आरोपलाई मसला बनाउँदै केही मिडियाले आफूमाथि लाञ्छना लगाएको म्यागीको भनाइ छ।
आर्थिक हिनामिना गरेको आरोपमा दुई महिनाअघि जागिरबाट निकालिएकी कौशिला मैनालीले यौनदुर्व्यवहार, आर्थिक हिनामिना, बालबालिकाको किर्ते कागज बनाएर रकम लिएको भन्दै पुस २० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आरोप मुख्य रूपमा समाजका अध्यक्ष मल्लमाथि लगाइएको छ। ‘तर मिडियाले मेराविरुद्ध समाचार लेखिरहेका छन्,’ उनले भनिन्, ‘हुँदाहुँदा अस्ति १०–१२ जना पत्रकारको समूह आक्रोशित हुँदै आएर जबरजस्ती हाम्रो स्कुलमा पस्न खोज्यो, अनुमति नलिई तस्बिरसमेत खिच्यो, यो कस्तो पत्रकारिता हो?’
पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको योजनामा षड्यन्त्र भइरहेको म्यागीको आरोप छ। भारतीका जेठान नाता पर्ने कर्मचारीलाई एक वर्षअघि आचरणविपरीत काम गरेको आरोपमा निस्कासन गरिएपछि उनी योजनाबद्ध रुपमा लागेको उनले बताइन्। ‘भारतीका जेठानलाई निस्कासन गरेपछि उनले लगातार झूठा र भ्रामक समाचार प्रकाशित गरिरहेका छन्,’ उनले भनिन्, ‘यसविरुद्ध मैले पत्रकार महासंघ केन्द्रीय कार्यालयदेखि प्रेस काउन्सिलमा समेत उजुरी दिएकी छु तर सुनुवाइ भएको छैन।‘ भारतीद्वारा सम्पादित स्थानीय पत्रिकाले आफ्नो खण्डनसमेत नछापेको उनको गुनासो छ।
पूर्वकर्मचारी मैनालीले महिला केन्द्रको इन्चार्ज हुँदा १ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको खुलेपछि जागिरबाट निलम्बन गरिएको समाजका अध्यक्ष मल्ल बताउँछन्। ‘पदीय आचरणविपरीत काम गरेकाले कात्तिक १५ गतेदेखि निलम्बन गर्यौं ,’ उनले भने, ‘तर अहिले आएर ममाथि यौनदुर्व्यवहार आरोप लगाइन्, जसमा कुनै सत्यता छैन।‘ आरोप सावित भए आफू जस्तोसुकै कारबाहीसमेत भोग्न तयार रहेको मल्लले बताए।
महासंघ अध्यक्ष भारती भने आफूले पूर्वाग्रह नराखी समाचार सम्प्रेषण गरेको बताउँछन्। उनले केही दिनअघि आफूसहित पत्रकारको समूह कोपिला भ्यालीमा जाँदा दुर्व्यवहार भएको बताए। ‘यो सब मेरै कारणले भएको हो भन्ने उहाँहरूको सोचाइ छ,’ भारतीले भने, ‘तर समाचार त मैनालीले पत्रकार सम्मेलन गरेपछि स्थानीय पत्रिकामा आएका छन्, यसमा मेरो कुनै दोष छैन।‘
दश वर्षअघि नेपाल आएर सुर्खेत, भैरवस्थानमा कोपिला भ्याली सेवा समाज नामक संस्था स्थापना गरी अनाथ र टुहुरा बालबालिकाको सेवामा तल्लिन म्यागीलाई अमेरिकी टेलिभिजन सिएनएनले सन् २०१५ मा सिएनएन हिरो घोषणा गरेको थियो। पुरस्कारबापत प्राप्त झन्डै १ करोड रकमबाट सुर्खेतमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण गर्ने घोषणा उनले गरेकी छन्।
साभारः नागरिक न्यूज




Milan Shrestha । १ माघ २०७२, शुक्रबार ०२:१६ बजे