शङ्खधर साख्वा सामाजिक न्यायका अभियन्ता : प्रधानमन्त्री


30102016120811pm-1000x0कार्तिक १४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् सारा नेपालीको सम्वत् भएको बताएका छन् । आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल सम्वत् नेवारहरुको मात्र नभइ सबैको भएको बताए ।

उनले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिसकेकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘नेपाल सम्वत् नेपालको मौलिक सम्वत् पनि हो । अघिल्लो कार्यकालमा मैले यसलाई राष्ट्रिय सम्वत् घोषणा गरें । यसपटक हामी सबै मिलेर यसलाई व्यवहारमा उतार्ने संकल्प गरौं ।’

कार्यक्रममा शङ्खधर साख्वा सामाजिक न्यायका अभियन्ता भएको स्मरण गर्दै भने, ‘शाख्वाले जनताको ऋणमोचन गर्नुभएको थिए । उहाँको यो काम नेवारहरुका लागि मात्रै नभएर त्यतिबेलाको सन्दर्भमा सामाजिक न्यायका क्षेत्रमा ठूलो अभियान थियो ।’

कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पुनर्निर्माण र सुशासनका लागि क्रियाशील रहेको जानकारी गराउँदै थानकोट-कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको बताए ।

कार्यक्रममा सांसदहरु रुपा महर्जन, भीमसेनदास प्रधान, पूर्व राज्यमन्त्री दीलिप महर्जन लगायतले नेपाल सम्वतको महत्वबारे चर्चा गरेका थिए ।

साभारः कान्तिपूर अनलाइन