
मिलन श्रेष्ठ
फागुण, १ सुर्खेत ।
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर वडा नं.९ स्थित एक मात्र ऐतिहासिक शिब मन्दिरमा आज धुमधामका साथ शिबरात्रि मनाईरहेका छन् । जिल्ला स्थित अन्य शिब धाममा श्रद्धालु भक्तजनहरुको घुईचो लागिरहेको छ । लाटीकोईली शिब मन्दिर क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको शिबबिहार पुस्तकालएले जनाएको छ ।

केही मानिसले फागुन २ गते शिवरात्रि भनी हल्ला चलाए पनि नेपाल पञ्चांग निर्णायक समितिले लामो छलफलपछि मध्यरातमा चतुर्दशी परेका दिनलाई मानेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आजै दिनभर मेला भर्न आउने श्रद्धालु भक्तजनहरुको सेवा सुविधाका लागि शिब मन्दिर देखि काक्रेबिहार घुम्न जानेलाई निशुल्क गाडिको व्यवस्था गरिएको साथै आजै काक्रेबिहार प्रवेश निशुल्क गरिएको वडा नं.९ का वडा अध्यक्ष सुरेशमानन्धरले जनाए । मानन्धरका अनुशार आज दिउसो २ बजे हाउजु खेल खेलाईने समेत बताए ।



Milan Shrestha । १ फाल्गुन २०७४, मंगलवार ०४:४२ बजे