कालिकोटमा महाशिवरात्री पर्व धुमधामका साथ मनाईयो


बिस्नप्रसाद न्यौपाने
फागुन १ । कालिकोट ।
कालिकोटमा महाशिवरात्री पर्व व्यापकताका साथ मनाईएको छ । ब्रहृमाकुमारी इश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उप केन्द्र कालिकोटको आयोजनामा कालिकोट जिल्लामा औपचारीक रुपमा पहिलो पटक महाशिवरात्री पर्व व्यापकताका साथ मनाईएको हो ।

विगतका बर्षहरुमा सामान्य रुपमा स्थानिय होटलहरुमा पाक्ने पकौडा, सेलरोटी, पुरी लगायतका परीकारहरुमा चरेश हालेर बिक्रि बितरण हुने तथा स्थानिय नागरिकहरुले ती परिकारहरु खाएर महाशिवरात्री पर्व मनाउने गरेको भएपनि यस बर्ष भने निकै फरक शैलीमा शिवरात्री पर्व मनाईएको हो ।

ओम शान्ति तथा ब्रहृमाकुमारी इश्वरीय बिश्वबिद्यालय एवं राजयोग प्रशिक्षण उपकेन्द्र कालिलकोटले जिल्लाका सबै सरोकारवालाहरुसँग समन्वय गरी झण्डात्तोलन, शान्ति र्‍याली तथा साँकृतिक झाँकीहरु देखाएर शिवरात्री पर्व निकै तामझामका साथ मनाइएको हो ।

सदरमुकाम मान्म बजारमा आयोजित शिवजीका भजनकृतन सहितको र्‍याली प्रतिमा चौकमा पुगेर बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु देखाईयो । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी चन्दनाथ गौतमले समाजमा शान्ति स्थापनाका लागि हरेक मानिसको मन शान्तिको आवश्यकता रहेको बताउदै यस्ता धार्मिक कार्यक्रमहरुले समाजमा एक आपसमा भाईचारा र सामाजिक सद्भाव अभिबृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा खाँडाचक्र नगरपालिकाकी उप मेयर बिजया बिष्टले हाम्रा परम्परागत संस्कृतिहरु संरक्षण तथा सम्बर्धनको आवश्यकता रहेको बताउदै महाशिवरात्री पर्वको छुट्टै महत्व रहेएको बताईन् ।

कार्यक्रममा ब्रहृमाकुमारी बिश्वबिद्यालय एवं राज योग प्रशिक्षण केन्द्रकी ब्रहृमाकुमारी बिमला महत्तले पछिल्लो समय मानिसमा मानविताया, नैतिकता, सव्यता र संस्कार लोभ हुँदै गएको बताउदै समाजमा बिभिन्न प्रकारका गलत कार्यहरु हुन थालेको बताईन । उनले आस्थिक मानव नाष्तिक र हिंसक नहुने दाबी गर्दै असल संस्कार, मानवियता र सामाजिक सद्भावका लागि धर्मको खाँचो रहेको बताईन ।

उनले भनिन्, मानिस जन्मेपछि एक दिन मर्ने कुरा सत्य हो तर गलत कार्य गरेर मर्नु मानविय धर्म हाईन् । हरेक मानिकको आचारण र व्यवहारलाई सुधा गर्नका लागी पनि यस्ता धार्मिक कार्यक्रमहरुको आवश्यकता रहेको उनको भनाई थियो । कार्यक्रममा पंञ्च कन्या सहितको झाँकी समेत प्रस्तुत गरिएको थियो ।