
अविरल ढकाल, जुम्ला
फागुन २,
धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि शहर सम्मका कतिपय मानिसले ज्यान नै गुमाउने गरेका छन् । तर जुम्लामा धामीझाँक्रीले नै विरामीलाई स्वास्थ्य संस्थामा उपचार गराउन पठाउने गरेको पाइएको छ ।
कुनै समय विरामी भएमा भुत प्रेत बोक्सी र मसान लागेको भन्दै धामीझाँक्री कहाँ जाने स्थानीयलाई हिजोआज भने जुम्लाका धामीझाँक्रीले अस्पताल पठाउने गरेका छन् । पहिले पहिले सकेसम्म आफैँले रोग निको पार्ने दाबी गर्ने धामीझाँक्री आफैंले पछिल्लो समय कडा किसिमका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेका छन् ।
स्वास्थ्य सेवाको ग्रामीण तहसम्म पहुँच बढ्नुका साथै चेतनामूलक कार्यक्रममा सहभागीतापछि धामीझाँक्रीले गर्ने उपचार विधिमा परिवर्तन आउन थालेको हो । धामीझाँक्रीले अस्पताल जान सल्लाह दिएको धेरै जसो बच्चाहरुमा कुपोषण देखा परेको छ ।
अन्धविश्वासले जारा गाडेको जुम्लामा विरामी भए पछि धामीझाँक्री कहाँ जाने प्रचलन आहिले पनि यथावत नै छ तर हाल धामीझाँक्रीहरुमा आएको परिवर्तनले नै विरामीलाई स्वास्थ्य संस्थामा उपचार गराउन पठाउने गरेका छन् ।
कुनै समयमा विरामी भएमा भुत प्रेत लागेको भने धामीझाँक्री जनचेतनामा अभिवृद्धि भए संगै धामीझाँक्री कहाँ आएका विरामीका साथै कुपोषण लागेका बच्चाहरुलाई स्वास्थ्य संस्थामा र पोषण केन्द्रमा पठाउने गरेको धमेनी सरिता बुढाले बताईन । उनका अनुसार विरामीलाई तन्त्रमन्त्र र झारफुख गरेर रोग निको हुदैन बरु विरामीलाई अस्पतालमा पठाएर उसलाई बचाउन सकिन्छ ।
धामीझाँक्री कहाँ आएका विरामीलाई हामी सवै धामीहरुले अस्पताल लैजाने सल्लाह समेत दिने गरेको बुढाले भनिन ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगतबहादुर शाहीले भने पहिलेको तुलनामा हाल जुम्लामा कुपोषित बालबालिकाको संख्या घटेको र ८२ प्रतिशत बाट घटेर हाल १० प्रतिशतमा पुगेको छ । गाँउका आमाहरु अधिकाश अशिक्षित र कामको बोझले गर्दा बालबालिकाहरुलाई स्याहार सुसार गर्ने समयको अभावले पहिले धेरै बच्चाहरुमा कुपोषण देखा पर्थ्याे तर आजभोलीका आमाहरु पढेको र जनचेतना जागृतिका कारणले पनि आमाहरुले आफ्ना बालबालिकाहरुलाई पोषिलो तथा प्रोटिन युक्त खानेकुरा खुवाउने भएकोले कुपोषण दर घटेको शाहीले बताए ।
धामीझाँक्रीको सहयोगमा नै जिल्लामा यो आर्थिक वर्ष भित्र कुपोषित बालबालिकाको संख्या ५ प्रतिशतमा ल्याउने जिल्ला जनस्वास्थ्य कार्यालयको लक्ष्य लिएको छ । पहिलेको तुलनामा हाल जिल्लामा कुपोषित बालबालिकाको संख्या घटेर ८२ प्रतिशत बाट १० प्रतिशतमा पुगेको छ ।



Prawash Kumar Shakya । २ फाल्गुन २०७४, बुधबार १३:०६ बजे