जनप्रतिनिधि सँग राजीनामाको माग -बम


नदिए जे पनि हुन सक्ने खुलासा

कृष्णराज धमाला

फागुन ४, सुर्खेत
नेकपाका पोलीटब्यूरो सदस्य भरत बमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधि मात्रै नभई सरकारका जनप्रतिनिधिहरुले पनि राजीनामा दिनुपर्ने अबस्था सृजना हुने घोषणा गरेका छन् ।

अहिले हामीले पत्र मार्फत जनप्रतिनिधिहरुलाई राजीनामा दिन भनेका छौं, त्यसको बेवास्ता गरे जनताले नै उनीहरुलाई कार्बाही गर्ने उनले दाबी गरे । कालीकोटमा त धम्किपूर्ण शैली प्रयोग गरी राजीनामा दिन पत्राचार गर्नुभएको छ त भन्ने जिज्ञासामा बमले कालीकोटमा मात्रै नभई देशभर राजीनामा दिन लगाउदै छौं, पत्रले नमाने जे पनि हुन सक्छ । पत्रको अबज्ञा गरे जनताले आफै कार्बाही गर्ने भन्दै नेता बमले अनुरोधको मतलब नभए बलप्रयोग हुने निष्कर्ष भएको जानकारी दिए ।
मूख्य मन्त्री र मन्त्रीहरुका बारेमा पार्टीको धारणा के हो भन्ने जिज्ञासामा बमले थपे, उनीहरुले पनि राजीनामा दिनुपर्छ, तर एउटा मुडभेड पछि मात्रै त्यसबारेमा सोच्छन् होला । नेता बमले जनप्रतिनिधिहरुलाई राजीनामा दिन गरेको अनुरोध अस्वीकार गरेर द्धन्द्ध निम्त्याउने कार्य गरेको आरोप लगाउँदै आफूहरुले शान्तिपूर्ण तरिकाले राजीनामाको अनुरोध गरेको दाबी समेत गरेकाछन् ।