तस्करको आक्रमणबाट वनरक्षक घाइते


बर्दिवास,७ वैशाख । 
वन तस्करको साङ्घातिक आक्रमणबाट महोत्तरी जिल्लाको माइस्थानमा एक वनरक्षक घाइते भएका छन् । शुक्रबार माइस्थान–८ को पोखरीचौरी जङ्लमा तस्करले गरेको आक्रमणबाट इलाका वन कार्यालय माइस्थानका सशस्त्र वन रक्षक नन्दकिशोर सिंह घाइते भएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ । वन सुरक्षा गस्ती टोलीले जङ्लमा अवैध ढङ्गबाट रूख कटान गरी भारततर्फ लग्दै गरेका छ जनालाई दुई टायरगाडा काठसहित पक्राउ गरेर कार्यालयतर्फ लैजाँदै गर्दा करिब ५० जनाको समूहमा रहेको तस्करका मान्छेले चारैतिरबाट ढुङ्गामुढाले आक्रमण गर्दा सिंह घाइते भएको बताइएको छ । सिंहको बर्दिवास अस्पतालमा उपचार भइरहेको छ । 
आक्रमणकारीलाई तितरबितर पार्न चार राउन्ड हवाई फायर गरिए पनि निकै जनाको सङ्ख्याका तस्करका लठैतले पक्राउ परेका तस्कर र काठसमेत लिएर भागेको जिल्ला वन अधिकृत विद्यानाथ झाले बताउनुभयो । तस्करका लठैतले गरेको आक्रमणबाट कार्यालयको गाडीमा पनि सामान्य क्षति भएको छ । पछिल्लो समयमा तस्करले वन सुरक्षाकर्मीमाथि आक्रमण गर्ने क्रमलाई तीव्र बनाएका छन् । यसअघि जिल्ला वन अधिकृत झा नेतृत्वको वन सुरक्षा गस्तीलाई नै लक्ष्य गरी खयरमारा वन क्षेत्रमा साङ्घातिक आक्रमण आक्रमण भएको थियो । 
तस्करमाथि कारबाहीमा फितलोपन, तस्करको बचाउमा राजनीतिक दलका नेताको संलग्नता र जिल्लास्थित प्रहरी प्रशासनले वन सुरक्षाप्रति खासै चासो नदिँदा तस्करहरूको मनोबल बढ्दै गएको वन क्षेत्र वरिपरिका बासिन्दाको भनाइ छ । जिल्ला वन कार्यालयले भने स्थानीय प्रहरी प्रशासनसँग समन्वय भइरहेको जनाएको छ । पछिल्लो पटक शुक्रबार पक्राउपछि भाग्न सफल भएका तस्करको सबै पहिचान खुलेकाले उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त टोली परिचालन गरिएको जिल्ला वन अधिकृत झाले जानकारी दिनुभयो ।