
मिलन श्रेष्ठ
सुर्खेत, चैत २१ ।
कर्णाली प्रदेशको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको आर्थिक कार्यविधि सम्बन्धि विधेयक २०७४ पारित भएको छ । आज बसेकोे कर्णाली प्रदेशको नवौँ प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मति रुपमा पारित गरेको हो । चैत १६ गते बसेको छैठौ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक पेश गरेको थियोे । विधेयक माथि हिजो र आज दफाबार छलफल भएको थियो । दुईदिनको छलफलपछि आज बैठकले विधेयक पारित गरेको हो ।
आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न तत्काल पारित गरि कार्यान्यवन गर्न आवश्यक परेकोले दुत्रमार्गबाट पारित गरिएको हो । सांसद सिता नेपालीले दुत्रमार्गबाट पारित गर्न ल्याएको प्रस्तावमा सांसद गुलाबजग शाहले सर्मथन गर्नुभएकोे थियो ।
आर्थिक कार्यविधि विधेयक पारित भएसंगै अब कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउने र खर्च गर्ने बाटो खुलेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट यही चैत भित्र ल्याउने र आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट ल्याउने तयारी समेत गरेको छ । आर्थिक मामिला तथा योेजनामन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि पारित भएर सरकारलाई आर्थिक क्रियाकलपमा सहज हुने बताउनु भयो । उहाँले कर्णाली प्रदेशको बजेट ल्याउने तयारीलाई प्रक्रियागत रुपमा तिव्र पारिने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी तिन महिनाका लागि यही चैत भित्रै बजेट ल्याउने तयारी अब तिव्र गतिमा लगिने बताउनु भयोे । ‘आर्थिक कार्यविधि पारित भयो । अब सरकारलाई आर्थिक काम गर्न सहज हुन्छ’ उहाँले भन्नुभयोे ‘अब हामीले बजेट ल्याउने कार्यलाई तिव्र गतिमा अघि बढ्छाँै । आर्थिक कार्यविधि पारितभएर सरकारलाई आर्थिक क्रियाकलाप अघि बढाउन बाटो खुलेको छ ।’
अब प्रदेशमै प्रदेशको सञ्चित कोष स्थापना हुने र प्रदेशको स्रोत सञ्चित कोषमा जम्मा हुनेछ । यस्तै आर्थिक अनुशानसन कायम गर्ने कानुन अनुसार अनियमिततालाई नियन्त्रण गर्न आर्थिक अनुशासन पालना गर्ने, कर्मचारीहरुलाई खर्चप्रति जवाफदेखि गराउने र खर्च पारदर्शी गराउ सहज हुनेने उहाँले बताउनु भयो ।
यसैविच प्रदेश संसादहरुले कर्णाली प्रदेशको शान्ति सुरक्षाप्रति प्रदेश सरकारको ध्यानाकषर्ण गराएका छन् । पछिल्लो समय कर्णाली प्रदेशमा विभिन्न हिंसाहरु बढेको र आफुहरु पनि असुक्षित महसुस गरेको भन्दै सरकारको गम्भिर ध्यानाकषर्ण गराएका हुन । प्रदेश सांसदहरुले सुर्खेतको पञ्चपुरी नगरपालिका ३ की गौरीकला रोकायको घटनालाई सत्यतथ्य छानविन गर्नका लागि छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । आज प्रदेश सभाको बैठकमा शुन्य समय र विशेष समयमा बोल्दै सांसदहरुले प्रदेशको शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताएका थिए । रोकाय पञ्चपुरी नगरपालिका ५ वावियाचौरमा डेरा गरेर एसइइको परीक्षा दिइरहेका बेला चैत १३ मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले गौरीकलाको हत्याको आरोपमा टाफिक प्रहरीसहित ३ जनालाई समेत पक्राउ गरिसकेको छ। सांसद पदमा खड्काले अहिलेसम्म गौरीकलाको घटनाको सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन हुनुपर्ने भन्दै समिति गठन गर्र्नुपर्ने माग राख्नु भयो । ‘त्यस घटनाको अहिलेसम्म बाहिर सत्यतथ्य बाहिर आएको छैन् । यस घटनाको लागि सत्यतथ्य छानविन गर्न छानविन समिति गठनको माग गर्दछु’ उहाँले भन्नुभयो, ‘यस तर्फ सरकारको ध्यानाकषर्ण होस ।’ सांसद कौशिलावती खत्रीले गौरीकलाको हत्याको सत्यतथ्य छानविन गर्न समिति गठन गर्नुपर्ने बताउनु भयो ।
यस्तै सांसद गुलाबजंग शाहले विकासका लागि सबै भन्दा पहिले शान्ति सुरक्षा कायम हुनुपर्ने भन्दै सरकारले यस तर्फ ध्यान जानुपर्ने बताउनु भयो ।
Milan Shrestha । २१ चैत्र २०७४, बुधबार १४:१८ बजे