पैसाको खेलोमेलोले प्राथमिकता पाएको शाहीको आरोप
कृष्णराज धमाला
फागुन ७, सुर्खेत ।
मन्त्रिपरिषद गठन प्रकृया गलत भएको भन्दै प्रदेश नम्बर ६ का सभासद चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश नम्बर ६ को मन्त्रिपरिषद गठन प्रकृयामा असहमति जाहेर गर्दै पैसाको खेलोमेलोका कारण आफूमाथि अन्याय भएको आरोप लगाउँदै मुगु जिल्लाबाट बिजयी नेकपा एमालेका सभासद चन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको हो ।
२०५६ सालमा मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्य जितेका नेता एमालेबाट मुगुमा चुनाव जित्ने पहिलो व्यक्ति हुन् । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्बाचित भएका एमाले केन्द्रीय सल्लाहकार शाहीले सभासद र पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिनुभएको हो ।
राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं गएका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाक मार्फत सभामुखलाई पठाएको जानकारी दिदै पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउने तयारीमा जुटेको बताउनु भयो ।
सभामुखको दाबेदार बनेका शाहीलाई सभामुख नबनाएपछि मन्त्री पदको आकांक्षा भएपनि त्यहाँ पनि फुत्काइए पछि पैसा र गुटको राजनीति हाबी भएको भन्दै राजीनामा दिनुभएको हो । मलाई सहन नसक्ने अन्याय भएको छ, उहाँले भन्नुभयो योगदानको बेमतलब भयो, नवप्रवेसी र पैसावालहरुलाई अबसर दिने प्रथा मलाई मन परेन ।
२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा सक्रिय हुँदै आएका १५ वर्षसम्म मुगुको पार्टीको पार्टीको नेतृत्व समेत गर्नुभएको हो । पार्टीमा माधव नेपालको खेमाका रुपमा चिनिने शाही मिलनसार, सालीन् तथा जनताको सुख, दुःखमा साथ दिने नेताको उपमाले चिनिन्छन् ।



Milan Shrestha । ७ फाल्गुन २०७४, सोमबार ०६:१६ बजे