१७ भाद्र । बर्दियाको बढैयाताल तिल्कानामा रहेको बर्दिया एकेडेमीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । सोही स्कूलमै कक्षा १० मा पढ्ने बर्दिया मोतिपुर बाँसघारीका सुशील चौधरीले यही भदौ ७ गते स्कूलकै शौचालयमा लगेर बालिकालाई बलात्कार गरेका हुन् ।
घटना बारे बालिकाका बुबाले यसो भने
छोरी एलकेजीमा पढ्थी । भदौ ७ गतेका दिन उनी २ बजे नै घर फर्किइन् । आगनमा पुग्नेबित्तिकै ढलिन् । के भयो भन्ने भयो । तर्सियौं हामी । आँखा पनि खोलिनन् । सबै आत्तियौं । आँखा खोलेपछि सोध्दा पेट दुख्यो भन्नि । जुका प¥यो कि भन्ने पनि लाग्यो । एकछिनपछि उल्टि गर्न थालिन् । उसको शरीर हेर्दा त योनीबाट रगत बगिरहेको थियो । अनि थाहा पायौं उ त बलात्कृत भएकी रहिछ । के भयो भन्दा भन्न मानिनन् । पीडकले यो कुरा कसैलाई भन्यो भने मार्दिन्छु भनेको रहेछ ।
घटना बाहिर नल्याउन स्कूलको धम्की
छोरी बलात्कृत भएको थाहा पाएपछि स्कूलका शिक्षकलाई फोन गरँे । उनीहरूले दुई दिनभित्रै केटाको पहिचान गरेर उपस्थित गराउँछौं । अहिले कसैलाई केही नभन्नु भने । तर दुई दिन बित्यो केटाको पहिचान समेत भएन । स्कूलले कुनै वास्तै गरेन । स्कूलले केटालाई बचाउने प्रयास गरेको जस्तो लाग्यो ।
स्कूलका प्रधानाध्यापकलाई फोन गर्दा स्कुलको बदनाम हुने गरी कुनै क्रियाकलाप गरे बालिका अपहरणमा पर्न सक्ने, बालिकाको भविष्य अन्धकारमय हुने र हामी आमा बुबालाई पनि जतिसुकै बेला जेसुकै हुन सक्ने डर र धम्की दिए ।
त्यसपछि भदौ १० गते प्रहरीमा उजुरी दिएँ । ११ गते प्रहरी लगायत स्थानीय मान्छे स्कूलमा जम्मा भए । ४०÷५० जना स्कूले केटाहरूलाई जम्मा गरियो । बालिकालाई केटा किटान गर्न लगाइयो । प्रहरी, स्कूलका शिक्षक र अन्यले जतिपटक सोध्दा पनि बालिकालाई एउटै केटालाई देखाइरहिन् । ती थिए–सुशील चौधरी ।
प्रहरीले सोधिसकेपछि अरुले नसोध्दा पनि हुन्थ्यो । प्रहरीले पनि एकपटक मात्रै सोधे त हुने नि । पटकपटक छोरीलाई एउटै कुरा सोधियो । प्रहरी कार्यालयमा जसले पनि घटना बारे सोधिरहने । यही केटा हो भनेर भनिसकेपछि पनि बारम्बार को केटा हो भन भन्ने ।
यो कुराले उसलाई एमदमै पीडा दिएको छ । सबैले के भएको हो ? केटो कस्तो थियो ? के गर्यो ? कहाँ गर्यो ? जस्ता प्रश्न सोधेर हैरान गरिरहेका छन् । प्रहरीले सुशिललाई पक्राउ गर्यो । तीन दिन हिरासतमा राख्यो । अनि कम उमेर भएकाले थुन्न नमिल्ने भन्दै छोडिदियो । अहिले त्यो केटो त्यही स्कूल गइरहेको छ ।
मेरो छोरी अझै पनि स्कूल जाने अवस्थामा छैन । उ राम्ररी हिँडन् सकिरहेकी छैन । स्कूल जान्न भन्छिन् । छोरीले मेरो मोबाइल समातेर नम्बर थिचेजस्तो गर्छिन् । अनि आक्रोसित भएर बोल्छिन्, ‘पुलिस अंकल त्यो केटालाई लात्तैलात्ताले पिट्नुस् । चप्पलले हिर्काउनुस् है’ भन्छिन् ।
मेरो नाबालक छोरीमाथि स्कूलमै यस्तो दुखद् घटना हुँदा समेत स्कूलले वेवास्ता गरिरहेको छ । क ख समेत लेख्न नजान्ने छोरी बलात्कृत हुँदा उसलाई स्कूलप्रति नै वितृष्णा जागेको छ । स्कूलमा यस्तो हुँदोरहेछ भन्ने बुझी उसले । बलात्कारी त्यही स्कूलमा पढिरहेको हुँदा छोरीले स्कूल जान्न भन्छिन् ।
कानुनका धारा उपधाराहरूले बलात्कारी सानै उमेरको हुँदा छुट देला । तर मेरो छोरीलाई न्याय खोई ? त्यही स्कूलमा उसलाई देख्दा मेरो छोरीको मानसिकतामा कस्तो असर पर्ला ? सानै उमेरको भए अपराधीलाई छुट दिन मिल्छ भने बिना गल्ती सजाय पाउने र बलात्कार जस्तो जघन्य अपराधबाट विक्षिप्त मेरो छोरीलाई न्याय र राहत चाहिन्छ भन्ने कुरा कानुन बनाउनेहरूले बुझ्नु पर्ने हो ।
हामी एकदमै पीडामा छौं । हामीलाई कसैले पनि सहयोग गरेको छैन । फलानाकी छोरीलाई यस्तो रे भन्छन् । कुरा गर्छन् । के भो, कसो भो घटना सुनाउन लगाउछन् । बस् यति मात्रै भइरहेको छ ।
छोरीलाई घटना बिर्साउन सकिएको छैन । उसको योनीबाट सेतो पानी बगिरहेको छ । बेलाबेलामा तर्सिरहन्छिन् । निन्द्रामा कराउँछिन् । सम्झाउनै मुस्किल भएको छ ।
स्कूल जानु पर्छ समेत भन्न सकिरहेका छैनौं । के गर्ने, कसो गर्ने चिन्ताले सताएको छ । एक्लै सन्तान हो । उसको ज्यानमा तलमाथि हुन्छ कि भन्ने चिन्ता लागेको छ । म मजदुरी गरेर खाने मान्छे आफ्नो पक्षमा कोही छैन । आज तेरो लागि हामी छौं भन्छन्, भोली मुखै हेर्दैनन् ।
मेरो छोरीको लागि बोल्दिनुहोला । सहयोग गरिदिनुहोला । मेरो कोही भएनन् । (बालिकाका बुबा र आमा महिला खबरसँग कुराकानीका क्रममा निकै भावुक भई सहयोगको आग्रह गर्दै)
पीडकको उमेर घटाइयो
बालिकाका बुबाका अनुसार प्रहरी कार्यालयमा गएको दिन भदौ ११ गते बलात्कारी आरोपित सुशील चौधरीले आफ्नो उमेर १८ वर्ष हो भनेका थिए । तर जाहेरी दरखास्तमा भने उनको उमेर १४ वर्ष ४ महिना मात्रै उल्लेख छ ।
चार दिनपछि मेडिकल जाँच
बलात्कृत भएको चार दिनपछि भदौ ११ गते प्रहरीले छोरीको मेडिकल चेकजाँच गरायो । मेडिकल चेकजाँचपछि चिकित्सकले योनी च्यात्तिएको छ ।
अवस्था नाजुक छ भनेका थिए । तर प्रहरीले भने मेडिकल रिपोर्ट अनुसार तपाईंको छोरीको अवस्था सामान्य छ । केही भएको छैन भन्छन् । थाहा छैन यो भवितब्य मै गरिवको टाउकोमा कसरी आइपुग्यो ।
कानूनी प्रक्रिया अगाडि बढाएका छौंः प्रहरी
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जिल्ला अदालतबाट पटक–पटक म्याद थप गरी अनुसन्धान गरेको बताए ।
पछिल्लो पटक अदालतले नै अभिभावकको संरक्षणमा आरोपितलाई छोडिदिएको मैनालीले बताए ।
महिला खबरसँग कुरा गर्दै उनले भने, ‘पीडित बालिकाको जाहेरीपछि हामीले अदालतबाट म्याद थप गरी अनुसन्धान गर्यौं । मुद्दा चलायौँ । तर अदालतले अभिभावकको संरक्षणमा छोडिदियो । अहिले मुद्दा चलिरहेको छ ।’
महिलाखबर अनलाइनबाट



Milan Shrestha । १७ भाद्र २०७५, आईतवार २०:४२ बजे