फागुन ७, जुम्ला ।
कर्णाली राजमार्ग हुँदै कुडारी, ताम्ती, जाजरकोट जोड्ने काठेपुल तिला नदीले बगाएपछि ताम्ती गाउँबासीको गाडी चढेर घर–आँगनमा पुग्ने सपना सपनामै सीमित भयएको छ । निर्माण पछि प्राविधिकले पास गरेकै राती नदिले पुल बगाए पछि गाडी चढ्ने सपना अधुरो रहेको हो ।
उपभोक्ता समितिले गुणस्तको पुल निर्माण नगरेका कारण गाडी नचल्दै तिलानदीले पुल बगाएको हो ।
अर्काेतिर तिला गाउँपालिका ४ का स्थानीय कामदारले काठेपुल निर्माण गरेको ज्याला डेढ वर्ष बितिसक्दा पनि पाएका छैनन् ।
ताम्ती जाजरकोट जोड्ने कुडारी त्रिवेणीमा निर्माण भएको काठेपुलमा काम गरेका झण्डै १ सयबढी कामदारले हाल सम्म ज्याला नपाएको गुनासो गरेका छन् । काम गरेको डेढवर्ष बितिसक्दा पनि निर्माण उपभोक्ता समितिले ज्याला दिन आलटाल गरेको कामदार नरबहादुर शाहीको गुनासो छ । सांसद विकास कोषको ३० लाख रकमबाट गत वर्ष असार २२ गते त्रिवेणीमा निर्माण भएको पुलमा काम गरेवापत पाउने ज्याला रकम हिनामिना भएको कामदारहरूको आरोप छ ।
तिला गाउँपालिका ४ का कामदारले १ हजार, ८ सय दिन काम गरेको ज्याला नपाएका हुन् । साविकको जिल्ला विकास समितिबाट रकम भुक्तानी भइसक्दा पनि गाउँमा मजदुरले ज्याला पाएका छैनन् ।
ज्याला उपलब्ध गराई पाउँ भनि २०७३ माघ ४ गते प्रहरी चौकी कुडारीमा कामदारले उजुरी दिए पनि हाल सम्म सुनुवाई नभएको पीडितको गुनासो छ ।
कुडारी प्रहरी चौकीका इन्चार्ज हिरालाल बस्नेत र पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर शाहीको विरुद्धमा उभोक्ताले फेरी उजुरी गरेका छन् । प्रहरी इन्चार्ज बस्नेत भने अहिले जुम्लामा छैनन् ।
सांसद विकास कोषको ३० लाखमध्ये पुल निर्माण उपभोक्ता समितिले २४ लाख ९ हजार रुपियाँ भुक्तानी पाइसकेको थियो ।
पुल निर्माण गर्दा ८८ घण्टा डोजर प्रयोग गरे वापत प्रतिघण्टा ५ हजार, ५ सयका दरले रकम भुक्तानी गरेको अध्यक्ष शाहीले बताए । ५ हजार, ५ सयका दरले ८८ घण्टाको रकम भुत्तानी गरे पनि ४ लाख ८४ हजार खर्च भएको भनेपनि अन्य रकम कहाँ गयो त्यो भने खुलाइएको छैन । डोजर प्रयोग गरेको रकम छुट्टै र डोजरलाई तेल समेत समितिले आफै व्यहोरेको अध्यक्ष शाहीको भनाई छ । पुल निर्माणको स्टिमेट ३० लाख भए पनि ३१ लाख बराबरको काम भएको देखाइएको छ ।
Milan Shrestha । ७ फाल्गुन २०७४, सोमबार १०:५९ बजे