बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन १२ गते ।
कालिकोट जिल्लामा लागु भएको ग्रामिण कुखुरा प्रवर्द्धन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बिश्व बैकको आर्थिक सहयोग, जिल्ला पशु सेवा कार्यालय कालिकोटको समन्वय, कृषि तथा खाद्य सुरक्षा आयोजनाको सहजिकरणमा जिल्लाका १० वटा तत्कालीनका गाविसहरुमा लागु गरिएको ग्रामिण कुखुरा प्रवर्द्धन कार्यक्रम जिल्लास्तरका ग्रामिण समुदायमा प्रभावकारी बन्दै गएको छ ।
जिल्लाका बालबालिकाहरुमा देखिएको कुपोषण रोगको समस्यालाई न्यूनिकरण गर्नकालागि कृषि तथा खाद्य सुरक्षा आयोजनाको सहजिकरणमा संचालन गरिएको ग्रामिण कुखुरा प्रवर्द्धन कार्यक्रमबाट प्रति कृषकका परिवारहरुलाई ६ वटाका दरले कुखुरा बितरण गरिएको हो ।
जिल्लाको तिलागुफा नगरपालिका स्थित जुविथा कुखुरा पालन कृषक समुहमा आबद्ध लक्ष्मि शाहीले आफुले जिल्ला पशुसेवा कार्यालयबाट १ बर्ष अगाडी लिएको ६ वटा कुखुराबाट हाल बृद्धी गरि २२ वटा पुर्याउन सफल भएको बताउनुभयो ।
शाहीले घरका सुत्केरी तथा बालबालिकाहरुलाई प्रति दिन १/१ वटा अण्डा प्रयोग गर्ने गरेको बताउदै अण्डाको प्रयोग गर्दा बालबालिकाको स्वास्थ्यमा सुधार आएको बताउँदै थोरै मेहनत गरेर धैरै आम्दानी गर्नका लागि कुखुरा पालन व्यवसाय निकै सहज रहेको अनुभव सुनाउनुभयो ।
जिल्ला पशुसेवा कार्यालय प्रमूख ब्रजकिशोर ठाकुरले जिल्लाका साविकका मुम्रा, सिपखाना, फुकोट, लालु, भर्ता, फोईमहादेव, जुविथा, चिल्खाया लगायतका १० वटा गाविसका ५६ वटा कृषक समुहरुलाई प्रति कृषक ६ वटा कुखुराका दरले हेम्प सायर र अस्टुला जातको कुखुरा बितरण गरिएको जानकारी दिनुभयो ।
प्रमुख ठाकुरले जिल्लाको ग्रामिण समुदायमा रहेको कुपोषणको समस्यालाई न्यूनिकरणका लागि जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायतका सरकारी निकायहरुको सहभागितामा विभिन्न क्रियाकलापहरु संचालन गर्दै सामुहिक रुपमा अभियान थालिएको बताउदै जस अन्तरगत पशुसेवा कार्यालयले कुखुरा पालन व्यवसाय गरी अण्डाको प्रयोग तथा पशुजन्य बस्तुहरुको प्रयोगमा जोड दिएको जानकारी दिनुभयो ।



Milan Shrestha । १२ फाल्गुन २०७४, शनिबार १३:३५ बजे