एउटा छोरी जन्मजात जीवनमा स्वतन्त्र रुपमा बाँच्न जन्मेको हुन्छः कार्की


 

विविधताले भरिएको हाम्रो समाजको सेरोफेरो एउटै परिधिमा अटाए पनिकुनै न कुनै मनोगत दशाबाट आक्रान्त छ । अर्कोथरि त्यसको ठिक बिमुख भएर उभिएको छ । आफूलाई वर्तमान परिवेशमा उभिएर हेर्ने कल्पना पनि गरेको पाइँदैन । किन कि, उनीहरु विगतकै शैलीबाटै आफूलाई अभ्यस्त बनाउन प्रयत्न गर्छन ।

नेपाली समाज अहिले यही गुण र दोषले ग्रस्त छ । भएको के थियो, भन्दा अव हुनु पर्ने के हो ?भन्ने विचार आम समाजमा फैलाउनु अपरिहार्य हो । महिला र पुरुषको बीचको स्वरुप भिन्नतालाई लिएर हुने टिका टिप्पणीले कुनै अर्थ राख्दैन । अर्थ राख्छ त केवल उसको सकारात्मक अनि प्रभावकारी कर्म र सोँचले ।

नारी र पुरुषलाई समान रुपमा अवसर र उत्तरदायित्व बहन गराउन सक्ने हो भने सायदै सुदुरमा बसेका ती छोरी चेलीको मुहारमा कान्ति छरिने थियो, भविष्य उज्ज्वल बन्ने थियो । आवश्यक न्यूनतम आधारभूतकुराबाट बञ्चित हाम्रा छोरी चेलीको आगत सुनौलो बनाउन शिक्षाको उज्यालो छर्नै पर्छ ।

सानैमा उनीहरुको विवाह गरि दिने अनि भविष्य अन्धकारमा धकेलिने अवस्था अझै हाम्रो समाजमा बग्रेल्ती छन् । ती छोरी चेलीको भविष्यलाई लिएर चिन्तनमा रहनु भएका, उनीहरुको भविष्य सुनौलो बनाउनसफा मन लिएर हिड्नु भएका जीवन रुपान्तरणका अभियन्ता नरबहादुर कार्की बालविबाह विरुद्धको महाअभियानका साथ नेपालका हरेक क्षेत्रमा पुगेर सचेतना फैलाउन तल्लीन हुनु हुन्छ ।

आफ्नै सेरोफेरोमा बाँचि रहेको कसैलाई फरक शैलीबाटै जिउन सिकाउने उहाँको यो अभियानबाट उनीहरुको। हामीहरुको भविष्य सकारात्मक अनि उज्जवल बनाउनतल्लीन हुँदै गर्दा के के समस्यासँग जुध्नु पर्दो रैछ , जीवन रुपान्तरणको आधार के हो ? लगायत विषयबस्तु समेट्ने प्रयत्नका साथ अभियन्ता कार्कीसँग गरिएको कुराकानीको सार ।

तपाई छोरीचेलीहरुका लागि जागरण लिएर देशका कुनाकन्दरामा घुम्दै हुनुहुन्छ । छोरीका लागि स्वर्णीम महाअभियान जसरी बनेको छ । त्यस्तै सहज छ र ?

चुनौति धेरै छैनन् । बिषयलाई जति गाम्भीर्यताका साथ लिनुपर्ने हो, त्यसरी नै लिन सकेनौ । यो बिषय हामी कसैले सम्बोधन गर्ला भनेर, चेतना छैन, शिक्षा छैन वा यो छैन र त्यो छैन भनेर हामीले कठिन मानिराख्यौ । तर, जब हामी गाउँ बस्तीमा पुग्यौ । किशोर किशोरी अनि उनीहरुका आमाबुबाहरुसँंग, त्यहाँका हजारौ समुदायसंँग भेट्याैं । त्यहाँ जाँदा हामीले एउटै चुनौति पायौँ । त्यो के हो भन्दा, समस्यालाई हामीले चाहिने भन्दा गाह्राे बनाएर बुझ्ने गरेका छौँ ।

परिवर्तनलाई हामीले जहिले पनि असम्भब बनाएर बुझ्ने गरेका छौँ । हाम्रो यो तौरतरिका, हाम्रो यो मानसिकता बदल्ने बित्तीकै हामीले हाम्रा हजारौ छोरीहरु, अझ आजको दिनमा भन्ने हो भने करिब ३३ लाख छोरीचेलीहरुको जीवनमा नयाँ परिवर्तन आउन सक्छ । त्यो पनि धेरै छिटो । चुनौति भन्दा पनि हामीले ध्यानदिनुपर्ने कुुरा के हो भने, यो कुरालाई जहिले पनि अस्वीकार गर्ने क्षमता भएन ।

उदाहरणकै लागि प्रशासनले यो बैधानिक होईन , कानूनी हिसाबले हिंसा हो , या अपराध हो भनेर खुलेर भन्न सकेन । अनि, राजनीतिक हिसाबले यसको संरक्षण गर्न तिर लाग्याैं । सामाजिक हिसाबले हामी यसलाई फेर्न सक्दैनौ भन्नेतिर लाग्याैं, त्यतिमात्र हो । जब हामीले बालविवाह स्वीकार छैन भन्छौ, तब हामी देख्ने छौँ, समाजमा धेरै परिवर्तन भएको, सु्न्दर भएको ।

गुणदोष या सहि गलत समाजबाटै छुट्टीएन । त्यसको भागिदार हाम्रा कलिला छोरीचेलीहरु भए, तपाईहरु जस्तो सामाजिक अभियन्ता, नागरिक समाज या समाज परिवर्तनका संबाहकहरुको अब चाँहि शसक्त उपस्थिति आवश्यक देखियो हैन ?

हजुर, एकदमै । किन कि यो सवालले गर्दा नेपाल र नेपाली जनता तथा हामी मानव हुनुको नाताले, हामीहरुले यसको के परिणती भोग्नुपर्छ भन्ने कुरा यसका सबै सरोकारवालाहरुले गम्भीर भएर बुझ्न जरुरी छ । किन कि, छोरीहरुको विवाह भनेको बाल्यकालमा भैरहेको उनको जटिलताहरुको प्रक्रिया मात्र होईन, यो हजाराँैसपनाहरुको मृत्यु हो ।

एउटा छोरीले जन्मजात जीवनमा स्वतन्त्र रुपमा बाँच्न जन्मेको हुन्छ । ती स्वतन्त्रताहरु र सम्भावनाहरुको मृत्यु हो । एक बालीका विवाहित हुने बित्तिकै उनको शिक्षामा, सीपमा, ज्ञानमा उनको प्रजनन् स्वास्थ्यमा, शारिरीक स्वास्थ्यको अवस्थामा मात्र नभई अर्थतन्त्रको दरो हिस्सा भएर उत्पादक जनशक्ति भएर देश र समाजलाई जे दिनुपर्ने हो, ति सबै दिने यी सम्भावनाहरुको एकैचोटि अवरुद्ध गर्ने प्रक्रिया बालबिबाह हो ।

मैले भन्न खोजेको कुरा के हो भने, हाम्रो प्रणाली, हाम्रो संस्कार, हाम्रो सरकार, हाम्रो कानून लगायत हरेक तह र तप्कामा यो कुरालाई मौन हिसाबले स्वीकारिएको छ । त्यो स्वीकार नै सबैभन्दा खतरनाक छ । छोरीहरुआफै विवाह गर्छन् भनेर पनि हामी कहिलेकाहीँ भन्छौ । त्यो आफै विवाह गर्नेवातावरण बन्ने पनि एउटा सामाजिक परिवेश छ ।

किनभन्दा यो सहज रुपमा स्वीकार गरिन्छ । सञ्चारमाध्यम, राजनीतिक दल, कानून, प्रशासन अनि राज्यका सबै निकाय र समाजबाट यो स्वीकार्य छैन भन्ने आम सत्य बन्यो भने, सकिन्छ । हो, मेरो बिचारमा त्यो सत्य बनाउन जरुरी छ ।त्यसका लागि एउटा अभियान , अभियानकर्ताहरु , अभियन्ताहरु दुई चार जना अथवा एउटा नागरिक अभियान मात्र काफी छैन, यहाँको भनाई सत्य हो , यसलाई वास्तव मै अनूभुति हुने गरि कार्यान्वयन गर्न सवै पक्षबाट अझ गम्भीर रुपमा लिईनु पर्र्छ भन्ने मलाई लाग्छ ।

छोरी चेलीको विषयमा तपाई जति गम्भीर बन्नु भएको छ, यो त सवैको साझा चासोको विषय हो ,तर पनि सबैको साेँच या धारणा सकारात्मक बनाउन समय लाग्छ, परिवर्तनलाई स्वीकार गर्ने लायक बनाउन आधारभूत रुपमा के के आवश्यक देख्नु हुन्छ?

मेरो विचारमा परिवर्तनका लागि आजैबाट गर्न सकिने एउटा कुरा के हो भन्दा , हरेक छोरी या बालिकाले शिक्षा पाउने र शिक्षित नभई कन , उनको हातमा दक्षता र ज्ञान नभईकन उनले आफ्नो जीवनमा पटक पटक सम्झौताको जीवन बाँच्नु पर्ने छ । त्यो सम्झौताको प्रकृयाको शुरु हुने मूल कारण के हो भन्दा,आफ्नो जीवनको स्वअस्तित्व र स्वाभीमानका साथ बाँच्नका लागि शिक्षा पाउने छ , हामीले वकालत गर्नु पर्ने कुरा के हो भन्दा सबै बालिका या छोरीले उनले चाहे जति पढ्न पाउने वातावरण र पढ्नका लागि समाजले र राज्यले तथा विभिन्न निकायले उनको शिक्षामा सहयोग गर्यो या वातावण बनाई दियौ भने, हामीले विवाह नगर भन्नु पर्दैन । किन भने, त्यो एउटा काम हो जो हामी सबैले गर्न सक्छौँ र गर्नु पनि पर्छ , पहिलो कुरा ।

दोश्रो कुरा केहो भने , हामी नियम कानून र विभिन्न विधि बनाउँछौ भने ती सबै पालना गर्न कै लागि बनाइन्छन् । तिनीहरुलाई बेवास्ता गर्नका लागि बनाइएका हुँदैनन् । आजको हाम्रो स्थानीय सरकार , प्रशासन,आजको हाम्रो कानूुनलेकुनै महिलाले , कुनै छोरीले आफूले आफैलाई सुरक्षा गर्न सकेनन् भन्दैमा त्यस्ता खालका घटनाहरुलाई उनीहरुले उठाएनन् भने तपाईँ हामीले मूकदर्शक भएर हेरेर बस्ने होइन । कुनै पनि व्यक्ति र छोरी बोल्न सक्छ बालविवाहको विरुद्धमा । हो, यहि आवाज उठाउनका लागि हामी छोरी चेली , समाजका हरेक व्यक्तिका अगाडि जार्नु पर्ने कारण चाँहि त्यो हो ।

कतिपय व्यक्ति म जानकार छु , साक्षर छु , मेरो परिवार ठिक भए त भई हाल्यो नी, अरुको विषयमा किन टाउको दुखाउनु भन्दै आफ्नो ज्ञान अरु सामू व्यक्त नगरि दिँदा पनि चुनौति थपिएको हो कि? या जो जानकार नै छैनन् त्यही भएर हो कि?

हो पक्कै पनि , त्यही भएर अहिले हामी समुदायमा गएर र्याली गर्ने, बालविवाह नगर भन्ने अथवा भइ परि आउने समस्याको दृश्य पैदा गर्ने मात्र होइन, समाजमै रहेर उनीहरु कै बीचमा बसेर पाँच, छ घण्टा बहस चलाई राखेका छौँ । छोरी चेलीहरु हामीसँगै संलग्न छन्, त्यहाँका सरोकार पक्ष संलग्न छन् , त्यहाँका राजनीतिक दल संलग्न छन् , प्रशासन संलग्न छ ।

हामी सबैले बुझ्नु पर्ने कुरा के हो भन्दा हाम्रो उद्देश्य, समुदाय–समुदायमा गएर एउटा छोरी चेलीको बालविवाह रोक्नका लागि, छोरीहरुको स्वर्णीम नेपाल बनाउनका लागि अब छोरीलाई केन्द्र मै राखेर विकासको बारेमा साँच्नु पर्छ, छोरीलाई केन्द्रमा ल्यायौँ भने त्यसलेआमूल रुपमै सामाजिक सकारात्मक परिवर्तनलाई धेरै सजिलो बनाउँछ भन्ने बहसहरु हुन्छन् र तपाईले भने जस्तै, समुदायको आफ्नै चेतना छैन भने, त्यो चेतना नभएको समुदायलाई त्यसलाई संरक्षण र सहयोग गर्नका लागि अरु सरोकार पक्ष, सम्बद्ध पक्ष, कर्तव्य निर्वाह गर्ने पक्षहरुले कटिबद्ध भएर लाग्नु पर्छ भन्ने मूल आशय चाहिँ त्यो हो ।

साभार: खवर पोष्ट अनलाइन