सांसद शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन


कृष्णराज धमाला
फागुन १५, सुर्खेत ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन पार्टीले निर्देशन दिएको छ । आगामी दिनमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।
पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका शाहीलाई सांसद पद र पार्टी सदस्यबाट दिएको राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।
प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र मन्त्री छनोट प्रकृयामा आर्थिक चलखेल गरिएको भन्दै शाहीले गत साता प्रदेशसभा सदस्य र पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको थियो ।
प्रदेशसभा सदस्यको राजिनामा हुलाकमार्फत प्रदेशका सभामुखलाई पठाएका शाहीको राजीनामाका बिषयमा पार्टी स्थायी कमिटीमा छलफल भई केही कमी–कमजोरी भएको ठहर नेतृत्वले गरेको प्रदेश संयोजक युवराज ज्ञवालीले पत्रमार्फत जानकारी दिनुभएको छ । पत्र मार्फत राजीनामा र्फिता लिन र सोही जिम्मेवारीहरुमा फर्किन शाहीलाई निर्देशन दिएको बुझिएको छ ।
सभामुखका दाबेदार रहेका शाहीलाई मन्त्री पनि नबनाइएपछि लगानी र योगदानको मूल्यांकन नभई आफू अपमानित भएको भन्दै उहाँले राजीनामा दिनुभएको थियो ।