पाँचौ दिनसम्म लगातार डोल्पाको दुनै बन्द


२२ फागुन । डोल्पा। ठूलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा भएको लामो बन्दले दुनै बजार र शैक्षिक अवस्था अस्तव्यस्त बनेको छ ।

नगरपालिकाको केन्द्र जुफालबाट दुनै नआएसम्म अनिश्चितकालिन बन्द भनेर हिक्मतबहादुर शाहीको नेतृत्वमा संघर्ष समिति बनाई आन्दोलनमा उत्रेका स्थानीयहरु आन्दोलन छाड्ने पक्षमा छैनन् । काठमाडौंमा रहेका दुनैका स्थानीयहरुले आन्दोलनला्ई सहयोग गर्ने र काठमाडौंमा दबाब दिने उद्देश्यले काठमाडौंमा धनराम बुढाथोकीको संयोजकत्वमा २३ सदस्यीय संघर्ष समिति समेत गठन भै दौडधुप गरिरहेको छ ।
आन्दोलनको असर विद्यालय, सरकारी कार्यालय, सर्वसाधारणहरुको भण्डारमा पर्न थालेको छ । बालबालिकाहरुले पढ्न पाएका छैनन् भने सर्वसाधारणहरुको भान्सामा अभाव सिर्जना भएको छ । आन्तरिक रुपमा चलेको जीप यातायात बन्द हुँदा आवतजावत गर्ने बटुवाहरुले सास्ती खेप्नु परेको छ । ५, ५ दिन बन्द हुँदा व्यापारिहरुको व्यापार चौपट भएको छ । सर्वसाधारणहरुले आवश्यक सामान किन्न पाएका छ्रैनन् ।
नगर प्रमुख गणेशबहादुर शाहीले झुक्याएर केन्द्र सारेको भन्दै विरोधमा उत्रेका दुनैबासीहरुले गत बिहीबारदेखि सुरु गरेको बन्दको प्रभावले दुनै बजारमा तरकारी पाउन छाडेको उपभोक्ताहरुले जनाएका छन् । बजारमा सामान किन्न नपाए पछि भान्सामा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन थालेकाले बिक्री गर्ने मात्र होइन आफूलाई खाने परिकार पनि बनाउन मुस्किल परेको गुरुङ् होटलका भक्तबहादुर गुरुङले बताए ।
बन्दका कारण साविक दुनै गाविसका विद्यालयहरुको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको छ । यस गाविस तथा ठूलीभेरी नगरपालिका वडा नं. १ देखि ४ सम्म ४ वटा वडामा ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयहरु रहेका छन् । बन्दहडतालले ति विद्यालयमा अध्ययन गर्ने अवोध बालबालिकाहरुको पढाई रोकिएको एक शिक्षकले बताए ।
बजारमा मान्छे नै छैन । दिनभर बन्दकर्ता बाहेक कोही पनि बजारमा छैन । बन्दले व्यापार रोकिदा दिनमा एक रुपैयाँ पनि व्यापार नहुँदा व्यापारीहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता बढेको गणेश भुजेलले बताए ।
यो समाधान हुने जस्तो देखिदैन निर्णय भएको लामो समय भइसक्दा पनि यी वडाका वडा सदस्य सहित वडा अध्यक्ष र उपप्रमुख समेत यसै साविक दुनै गाविसका स्थानीय हुन् । उनीहरुले यत्रो समय वितिसक्दा पनि निर्णयका विषयमा बाहिर जानकारी नल्याइकन राजपत्रमा आइसके पछि मात्र आफूलाई जानकारी नभएको यो जालसाजी निर्णय भएको बताएर नगर प्रमुख गणेशबहादुर शाहीलाई दोष लगाएका छन् । निर्णय भएको ८ महिनासम्म नगरसभाले के निर्णय गऱ्यो त्यो जानकारी लिन नसक्ने साविक दुनै गाविसबासिहरुले वडा सदस्यदेखि वडा अध्यक्ष र उपप्रमुख समेतलाई असक्षम आरोप लगाएका छन् ।
केन्द्र जुफाल कायम भए पछि दुनैबासिहरु आन्दोलित भएका छन् भने यदि आन्दोलनले केन्द्र दुनै फिर्ता गरे जुफालबासि फेरी आन्दोलनमा उत्रने निश्चित देखिन्छ । त्यस कारण केन्द्र विवादले ठूलीभेरी नगरपालिका अब समस्याबाट उम्कन कठिन अवस्था आएको विश्लेषण जानकारहरुको छ ।
जे होस् केन्द्र जुफाल कायम भएको राजपत्रमा आए पछि कसरी उत्तेजना फैलियो यो असारमा भएको निर्णय यत्रो महिनासम्म सविक दुनै गाविसका वडा सदस्य वडा अध्यक्ष र स्वयम् उपप्रमुखले निर्णय किन हेरेनन् त ? उनीहरुले सूचना किन मागेनन् अहिले म प्रमुखलाई आरोप लगाउनु गलत भएको बताउदै ठूलीभेरी नगरपालिकाका प्रमुख गणेश शाहीले जनताले दुख पाउने गरी, विद्यालयका बालबालिकाहरुको पठनपाठन प्रभावित हुने गरी बन्दहडताल गर्नु भएन गलत भएको फोनमा बताए ।
ठूलीभेरी नगरपालिका सरकार हो सरकारको सभाले निर्णय गरेर केन्द्र सरकारलाई जानकारी गराई राजपत्रमा प्रकाशन भएको कुरा हो । एउटा नगरप्रमुख गणेशले गरेको होइन त्यस कारण आन्दोलन बन्द भन्दा अदालत गएर कानुनी उपचार खोज्दा हुन्छ । बन्दसन्द गरेर किन जनतालाई दुख दिने । नगरप्रमुख शाहीले आन्दोलनकारी चुनौति दिए ।
यता आन्दोलनरत पक्ष भने आन्दोलनबाटै केन्द्र फिर्ता गर्ने भनेर जालसाजी मेयर चाहिदैन केन्द्र सार्न पाइदैन भन्ने मुल नाराका साथ ५ दिनदेखि लगातार आन्दोलन जारी राखेको छ । आन्दोलन टसको मस नहुने निर्णय सुधार भए मात्र आन्दोलन रोकिने संघर्ष समितिका संयोजक हिक्मतबहादुर शाहीले बताए ।
नगरपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने, यो वर्षका योजना तथा कार्यक्रमहरु तिब्र रुपमा कार्यान्वयन गर्ने समयमा केन्द्र विवादले नगरपालिकालाई २ धारमा विभाजन गरिदिएकाले नगरपालिकाको आगामी बजेट तथा कार्यक्रम निर्माण र चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयनमा समेत बाधा उत्पन्न हुने देखिएको दुनैका अर्जुनबहादुर हिराचनले बताए । उनले भने, ‘त्यस कारण यो विवादलाई छिटो समाधान गर्नु पर्छ । वार्तामा बस्नुपर्छ ।’
साभारः कान्तिपूरअनलाइन